काठमाडौं– स्वाद र सन्तुष्टिको पछि लाग्दा हामी त्यो खानाको पौष्टिकता र ताजापनको बारेमा ध्यान नै दिन भ्याउँदैनौं। हामीले खाने खानाले हाम्रो व्यवहारलाई प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। सात्विक खाना खाने मानिसहरुको व्यवहार पनि सात्विक हुने गर्दछ भने, राजसी र तामसी खाना खाने मानिसहरुको स्वभाव पनि सोही अनुसारको हुने गर्दछ।
हामीले दैनिक खाने खानाको बारेमा त्यत्ति धेरै ध्यानदिने गर्दैनौं, आफ्नै घरमा पकाएको खाना त हो नि भनेर पटकपटक तताएर बासी खाना खाने होस् या त स्वादको लागि धेरै मसलायुक्त खाना खाने स्वभाव हामी धेरैको हुने गर्दछ। खाना खाने बेलामा एउटा कुरा जानकारीमा राख्नैपर्ने हुन्छ।
कुनै पनि व्यञ्जन पकाएको कति समय भित्र खाईसक्ने, एक घण्टा, दुई घण्टा, आठ घण्टा वा त्यो भन्दा पछि पनि खान सकिन्छ। आयुर्वेदकाअनुसार, हामी जे खान्छौं उसको सीधा सम्बन्ध हाम्रो शारीरिक एवं मानसिक स्वास्थ्यमा परेको हुन्छ।
यस प्राचीन विज्ञानका अनुसार भोजन तीन प्रकारको हुन्छ, (सात्विक, राजसिक र तामसिक) यी तीनै प्रकारका भोजनको आफ्नै महत्व रहेको छ।
सधैं खुशी रहनको लागि सात्विक भोजन
सात्विक भोजन हाम्रो लागि अति उत्तम मान्ने गरिन्छ। हल्कार स्वस्थ भोजन नै सात्विक भोजन हो। यो न ज्यादा मीठो हुन्छ, न त ज्यादा नुनिलोपिरो नै हुन्छ। सात्विक भोजनले मनलाई शान्त गर्नुका साथै शरीरलाई शुद्ध गराउन समेत मद्दत गर्दछ।
सात्विक भोजन हाम्रो मानसिक स्वास्थ्य र र्ऊजाको लागि लाभकारी हुन्छ।यसबाट हाम्रो चेतना बढ्दछ। यसबाट हाम्रो मन र शरीरको सन्तुलन वा सामञ्जस्य बढाउन मद्दत पुग्दछ। नियमित रूपले सात्विक भोजनको सेवनबाट शरीरमा र्ऊजाको सञ्चार हुन्छ। योगी र मुनिहरुले समेत सात्विक भोजनको सेवनलाई उपयुक्त मानेका छन्।
स्वयं ऋषिमुनीहरु समेत सधैं सात्विक भोजन मात्रै गर्दथे, योगी आहार समेत भएकोले यो हाम्रो शरीरको लागि कति महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि सहजै पत्ता लगाउन सकिन्छ। जसरी तामसिक भोजनले आलस्य बढाउँछ भनिन्छ। त्यसरी नै राजसिक भोजन पचाउनका लागि समस्या हुने आयुर्वेदमा उल्लेख छ।
तर, सात्विक भोजन पचाउनमा सहज, हल्का र ऊर्जावान हुने गर्दछ, सात्विक भोजनको उदाहरणको रुपमा ताजा फल, तरकारीहरु, हरियो तरकारी आदिलाई लिन सकिन्छ। जो व्यक्ति सात्विक आहार लिने गर्दछ। उसको व्यवहार सहज, स्पष्ट सोच, सन्तुलन एवं आध्यात्मिक रुझान जस्ता गुण देख्न सकिन्छ। सात्विक व्यक्ति आम रुपमा मदिरा जस्तो कुलत एवं अरु उत्तेजक पदार्थलाई घृणा गर्ने स्वभावको हुन्छ।
कर्ममा लागि रहन राजसिक भोजन
राजसिक आहार खाने मानिसहरुमा कामुक, लालची, इर्ष्यालु, क्रोधी, कपटी, अभिमानी र अधर्मी स्वभावको विकास हुन्छ। राजसिक व्यक्ति दृढ निश्चयी हुन्छन् र आफ्नो जीवनबाट भरपुर आनन्द लिने स्वभावका हुन्छन्। राजसिक भोजनले हाम्रो मन र शरीरलाई काम गर्नको लागि प्रेरित गर्दछ।
तर, यस भोजनको अधिक सेवनले छिटो रिस उठ्ने, निद्रा नलाग्ने जस्ता समस्याहरु आउनसक्ने देखिन्छ। यस भोजनबाट विस्तारै हाम्रो शरीरमा मन्दविष समेत प्रवेश गरिरहेको हुन्छ। जुन भोजन अत्यधिक स्वादिष्ट लाग्दछ त्यो राजसिक भोजन हो। जस्तै, चाकलेट, मिठाई, ज्यादा मसलायुक्त भोजनहरु यस अन्तर्गत् पर्दछ। राजसिक व्यक्तित्ववाला मानिसहरु शक्ति, सम्मान, पद र सम्पन्नता जस्तो चीजहरु मा बढी रूचि राख्दछन्। यस्ता मानिसहरुले आफ्नो जीवनलाई धेरै हदसम्म नियन्त्रणमा राखेका हुन्छन्।
तामसिक भोजन सचेत रहनुहोस्
तामसिक भोजनले राजसिक भोजनको क्रियाशीलतालाई हिंसामा बदल्न सक्दछ। तामसिक भोजन त्यो हो जसले हाम्रो शरीर र मनलाई जड बनाइदिन्छ। अधिक तामसिक भोजनको सेवनले मनमा उल्झन र भ्रान्ति पैदा हुने गर्दछ।
बासी खाना या दोस्रोपटक तातो बनाइएको भोजन, एकदमै धेरै तेलयुक्त भोजन, कृत्रिम भोजन आदि तामसिक भोजनका उदाहरण हुन्। कुनैपनि खानेकुरा पकाएको आठ घण्टापछि खानेकुरा राजसिक बन्ने गर्दछ। त्यो भन्दा धेरै समयपछि सोही खानेकुरामा तामसिक गुण देख्ने गरिन्छ। त्यसैले जतिसम्म सम्भव हुन्छ सधैं ताजा खाना नै खानु आवश्यक हुन्छ। सामान्यतया पकाएको तीन घण्टासम्म मात्रै भोजन सात्विक हुने गर्दछ।