काठमाडौँ - सवारीसाधनको दुर्घटनाबाट ज्यान गुमाउने बीमितको परिवारले २८ लाख रुपैयाँ पाउने भएका छन्। सवारीसाधनमा भएको जोखिमलाई दृष्टिगत गर्दै पहिले कायम रहेको ८ लाख बीमाङ्क रकमलाई २८ लाख रुपैयाँ बनाउन लागिएको बीमा समितिले जनाएको छ।
सोही निर्णयअनुसार यातायात व्यवस्था विभागले समेत सहमति जनाएको छ। साथै, स्पाइनल कर्ड इन्जुरी (मेरुदण्ड)को समेत बीमा गर्न आवश्यक रहेको बताएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयअनुसार बीमाङ्क रकममा यसरी हेरफेर भएको हो।
बीमितले २८ लाख रुपैयाँ रकम पाउन टाउको र स्पाइन कर्ड इन्जुरी भएको हुनुपर्नेछ। बीमितको उपचारका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ। उपचारका क्रममा बीमितको मृत्यु भएमा २८ लाख रुपैयाँ बीमाङ्क निजकाे परिवारका सदस्यले पाउनेछन्।
बीमितले मृत्युवरण मात्र गरेको अवस्थामा १० लाख रुपैयाँ छुट्याइएको छ भने उपचारका लागि मात्र भनेर ३ लाख रुपैयाँ छुट्याइएको छ। तर, उपचारका क्रममा स्पाइनल कर्ड इन्जुरी र टाउकोमा चोट लागेको भएमा थप १५ लाख रुपैयाँ छुट्याइएको छ।
यस्तै, मोटर बीमाका कारण बीमितको मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने सम्भावना रहेको बीमा समितिले जनाएको छ।