वीरगञ्ज - पर्साको मालपोत कार्यालय वीरगञ्जमा आज बिहीबारदेखि राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ। उक्त काउन्टरको राष्ट्रिय वाणिज्य बैंक प्रदेश २ प्रमुख विश्वप्रकाश ज्ञवालीले उद्घाटन गरेका हुन्।
बैंकले उक्त कार्यालयमा काउन्टर सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट डेढ महिनाअघि अनुमति लिएको थियो। मालपोत कार्यालयमा बुझाइने सबै खालका शुल्क तथा राजस्व संकलनका लागि काउन्टर सञ्चालनमा ल्याइएको राष्ट्रिय वाणिज्य बैंकका आदर्शनगर वीरगञ्जका प्रबन्धक टीकाराज रिजालले बताए। उनले भने, ‘अब मालपोतमा बुझाउने सबै किसिमको शुल्क तथा राजस्व भौचरमार्फत बैंकमा जम्मा हुन्छ, यसले मालपोत कार्यालयको नगद कारोबारलाई थप व्यवस्थित र सहजता प्रदान गर्नेछ।’
पहिले मालपोत कार्यालयमा बुझाउने राजस्वमध्ये मालपोत कर्मचारीले राजस्व हिनामिना गर्ने गरेको गुनासो बढेपछि सरकारले राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरेको हो।
यसअघि राजस्व हिनामिनाको आरोपमा मालपोत कार्यालयका तत्कालीन नासु तथा मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्तामाथि अख्तियार दुरुपयोग आयोगले सम्पत्ति जोडेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। कम समयमा करोडौँ रुपैयाँको सम्पत्ति जोडेपछि मदन गुप्ता अख्तियारको अनुसन्धानमा परेका छन्। हाल उनका सबै आफन्तजनको नाममा रहेको जग्गा रोक्का छ भने उनी पनि फरार छन्।
मालपोत कार्यालय पर्साका प्रमुख गमबहादुर विक पनि किर्ते कागज खडा गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेकोमा विशेष अदालतमा अख्तियारमा मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका छन्। काउन्टर उद्घाटन समारोहमा मालापोत कार्यालय पर्साका निमित्त प्रमुख सुमन झा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निशान्त थापा, लेखापढी व्यवसायी संघ पर्साका अध्यक्ष रामाधार प्रसाद साहको पनि उपस्थिति रहेको थियो।