काठमाडाैँ – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आवकाे समीक्षा, आगामी आवकाे कार्यक्रम तथा बजेट तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गर्याे। पाेखराकाे पोखरा भिलेज रिसाेर्ट लेकसाइडमा आयाेजित उक्त गाेष्ठीकाे उद्घाटन संस्थाको सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद आचार्यले गरेका हुन्।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको हालसम्मको प्रगतिका साथै अगामी वर्षको रणनीतिका बारेमा जानकारी गराए। कार्यक्रममा संस्थाका सातै प्रदेशका सबै शाखाका शाखा प्रमुखहरू र केन्द्रीय कार्यालयका सबै विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो।
दुई दिनसम्म चलेकाे उक्त कार्यक्रममा सबै शाखाका प्रमुखहरूले आ–आफ्नो शाखाकाे चालू आवको तेस्रो त्रैमाससम्मको लक्ष्य प्रगति र आगामी आवको कार्यक्रम, बजेटसम्बन्धमा जानकारी गराएका थिए। कार्यक्रमको अन्तिम दिन प्रमुख कार्यकारी अधिकृत यादवले गत आवमा संस्थागत र प्रदेशगत रूपमा उत्कृष्ट भएका प्रथम, द्वितीय र तृतीय तथा चालू आवको तेस्रो त्रैमाससम्मको अवधिमा उत्कृष्ट हुने शाखा प्रमुखहरूलाई नगद, ट्रफी र कदरपत्रले सम्मान गरे।
चालू आवको २०७५ चैत मसान्तसम्ममा हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरूमार्फत संस्थाको पहुँच देशका सातैवटा प्रदेशका ३७ वटा जिल्लाका ७५ हजारभन्दा बढी विपन्न परिवारमा पुगेको र हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ३ अर्ब ४८ करोड र बचत रू. १ अर्ब १२ करोडभन्दा बढी सदस्यहरूबाट संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ।