काठमाडौँ– अब कार्डबिना नै एटीएमबाट पैसा निकाल्न पाइने भएको छ। सिभिल बैंकसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रालि ले ‘कार्डरहित एटीएम भुक्तानी’ सेवा प्रयोगमा ल्याउन लागेको हो।
‘एम बैंक’ एपमार्फत कम्पनीले यो सेवा शुरु गर्न लागेको हो। हाल बैंक, वित्तीय संस्था तथा सहकारी गरी दुई सयभन्दा बढीले ‘एम बैंक’ एप प्रयोग गर्दै आएका छन्। आफ्नो खाता भएको संस्थाले प्रयोग गर्ने ‘एम बैंक’ एपको माध्यमबाटै ग्राहकले सिभिल बैंकको नेपालभर रहेका ६८ एटीएमबाट कार्डबिना पैसा झिक्ने सुविधा पाउनेछन्।
अब एटीएम नै सञ्चालन नगरेका विकास बैंक, फाइनान्स तथा सहकारीका ग्राहकले समेत यो लाभ लिन पाउनेछन्। एटीएम सञ्चालन नगरेका विकास बैंक, फाइनान्स र सहकारी यो प्रविधिमा जोडिएर ग्राहकलाई सेवा प्रदान गर्न सक्नेछन्।
टेक्नोलोजी कम्पनीले अहिलेसम्म १० वटा विकास बैंक तथा फाइनान्स र २ सय भन्दा बढी सहकारी संस्थालाई स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
मोबाइल बैंकिङ्गको सुविधा लिएका ग्राहकहरुलाई सम्बद्ध संस्थाले दिने मोबाइल एपको प्रयोगमार्फत कार्डबिना नै पैसा झिक्न सकिन्छ। ग्राहकले लिने यो एप वित्तीय संस्थाको आफ्नो लोगोसहित फरक फरक हुन्छ। साथै जुन, वित्तीय संस्था वा सहकारीमा खाता छ, त्यसैको एपमार्फत यो सुविधा लिन सकिन्छ।
यसरी झिक्ने पैसा:
एपमार्फत आफूले झिक्ने रकम, खाता भएको वित्तीय संस्थाको खाता नम्बर भरेर ओटीपी (वन टाइम पासवर्ड)का लागि अर्डर गरिन्छ। सो अर्डरपछि अटोमेटिक रुपमा वित्तीय संस्थामा रजिस्टर्ड आफ्नो मोबाइल नम्बरमा ६ अंकको ओटीपी प्राप्त हुन्छ जुन एक पटकको प्रयोजनका लागि मात्र मान्य हुनेछ।
अब सिभिल बैंकका एटीएममा गई स्क्रिनमा देखिने ‘कार्डलेस ट्रान्जेक्सन’ अप्सन छनोट गरिन्छ। सो अप्सनमा क्लिक गरिसकेपछि मोबाइल नम्बर, निकाल्ने रकम र ६ अंकको ओटीपी भरेर ‘इन्टर’ वा ‘ओके’ गरिन्छ। त्यसलगत्तै एपमार्फत अघि अर्डर गरिएको रकम एटीएमले झार्छ।
ओटीपी प्राप्त गरेको दुई घण्टाभित्र रकम झिकिसक्नुपर्ने व्यवस्था गरिएकोे छ। सो अवधिभित्र रकम नझिकिएमा खातामा नै रकम फिर्ता हुन्छ। त्यसपछिको अवधिमा रकम झिक्नुपरेमा पुनः अर्को ओटीपी लिनुपर्छ। यसरी प्रयोग हुँदै गएपछि सहजताका लागि यो अवधि बढाउन वा घटाउन पनि सकिन्छ।
एटीएमबाट एक पटक कारोबार गर्दा खाताबाट २५ रुपैयाँ कटौती हुनेछ। एक पटकमा झिक्ने रकम राष्ट्र बैंकले एटीएमको लागि तोकिएको सीमासरह नै हुनेछ। अर्थात हाल एक पटकमा २५ हजार रुपैयाँसम्म वा प्रतिदिन १ लाख रुपैयाँसम्म पैसा झिक्न सकिनेछ।