काठमाडौँ - युनाइटेड अरव इमिरेट्स (युएई)बाट रेमिट्यान्स पठाउनेले लक्ष्मी बैंकबाट विनाधितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउने भएका छन्। युएईको अल फर्दान एक्सचेन्जमार्फत नेपालमा रेमिट्यान्स पठाउँदा उनीहरुका परिवारले दुई वर्षका लागि कर्जा पाउनेछन्।
संयुक्त राष्ट्र पूँजी विकास कोष युएनसीडीएफले ब्लकचेन टेक्नोलोजीमार्फत यो सुविधा प्रदान गर्ने भएको छ। ब्लकचेन टेक्नोलोजीले रेमिट्यान्स र बैंकबीच पुलको काम गर्दछ। यो टेक्नोलोजीमार्फत वैदेशिक रोजगारमा गएकाले आफ्नो व्यक्तिगत विवरण ‘केवाइसी’ भर्न सक्नेछन्।
यस प्रणाली अनुसार नेपालमा रेमिट्यान्स प्राप्त गर्नेको परिवारले व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ। ब्लकचेनमार्फत वैदेशिक रोजगारमा गएकाले आफ्नो परिवारले लिएको कर्जा र कित्ताका बारेमा जानकारी पाउनेछन्।
युएनसीडीएफले रेमिट्यान्सलाई सहजीकरण गर्न तथा रेमिट्यान्सलाई पनि कर्जा प्राप्तिको माध्यम बनाउन सहजीकरणको भुमिका निर्वाह गरेको हो।
अल फर्दान एक्सचेन्ज युएईको दोस्रो ठूलो रेमिट्यान्स सेवा प्रदायक संस्था हो। युएईमा मात्रै यसको ७० वटा शाखा कार्यालय रहेको छ भने संसारभर १ सय ४० वटा करेस्पोण्डेन्ट छन्।