पोखरा – पोखरा प्राकृतिक सौन्दर्यतामा मात्रै होइन, कला र गीतसंगीतमा पनि त्यतिकै सम्पन्न छ। त्यसैले त नवोदित प्रतिभाहरुले फुल्ने अवसर पाएका छन् पोखरामा। पछिल्लो समय पोखराबाट नेपाली सांगीतिक क्षेत्रमा जोडिन आउने युवाहरुको सूची लामो छ। त्यस्तै एक कलाकर्मीको हुन् बालकाशी गुरुङ।
गएको बिहीबार पोखरा महानगरपालिका–१३ भद्रकालीस्थित निवासमा पुग्दा बालकाशी आफ्नै दैनिकीमा व्यस्त थिइन्। घरि छोराहरुलाई कराउँथिन्, घरि घर सफा गर्थिन्। अफिसमा आउने गेष्टहरुलाई स्वागत गर्न पनि उनी नै पुग्थिन्।
गुरुङ भाषाको फिल्ममा अभिनयमार्फत कला यात्रा प्रारम्भ गरेकी नायिका तथा निर्देशक बालकाशी गुरुङ नेपाली रजतपटमा आफ्नो स्पेस बनाउँदै अघि बढ्दैछिन्। एक घण्टापछि बल्लतल्ल फुर्सद पाएकी बालकाशीले कामलाई थाँती राखेर मुस्कुराउँदै भनिन्, ‘ल, अब कुराकानी सुरु गरौं, धेरै कुराए हैं!’
अभिनयको भोक कसरी लाग्यो? उनलाई थाहा छैन। अभिनय के हो? त्यो पनि थाहा थिएन। पुराना कुरा सम्झिँदा उनलाई ब्याचलर पढ्न लमजुङदेखि पोखरा आएको प्रसंग कोट्याइन्। ‘पोखरा आएपछि निर्देशक भोजबहादुर गुरुङसँग भेट भयो, उहाँले मलाईं नायिकाको रुपमा लायक सम्झिनु भएछ, आक्रादो भन्ने गुरुङ भाषाको फिल्मबाट डेब्यू गरेँ, त्यसरी नै भयो अभिनय यात्रा प्रारम्भ।’
पछि, फिल्म क्षेत्रका अग्रजहरुसँग चिनजान भयो, भेट पनि बाक्लिँदै गयो। भेटघाट बाक्लिदै गयो। नयाँ भए पनि सबैबाट राम्रो तारिफ पाइन् उनले । जुन, उनको जीवनको टर्निङ प्वोइन्ट नै बन्यो। ‘झट्ट हेर्दा त म गुरुङ जस्ती पनि देखिन्न,’ मुस्कुराउँदै बालकाशीले भनिन्, ‘त्यै पनि गुरुङ फिल्ममा डेब्यू गर्न पाए। अग्रजहरु माओत्से दाइ लगायतले नयाँ भए पनि फिल्म क्षेत्रमा केही गर्छिन् है भनेर हौसला दिनुहुन्थ्यो। सबैको हौसला पाएर पनि अघि बढ्न प्रेरणा मिल्यो।’
त्यसपछि ‘साहसी, भालेफाइट, मैरिमो, हमजाएगा’ भन्ने नेपाली फिल्ममा अभिनय गर्न पाइन्। केही म्युजिक भिडियोमा पनि अभिनय गर्ने अवसर मिल्यो। फिल्मले त्यति राम्रो सफलता हात पार्न सकेन। तर, उनको अभिनयको तारिफ अधिकांश दर्शकले गरे। यसैलाई उनी आफ्नो सफलताको पहिलो खुड्किलो मान्छिन्।
नायिकादेखि निर्देशकसम्म
सुटिङ स्पटमा जाँदा बालकाशीका आँखा सधैँ क्यामेरातिर हुन्थे। अभिनयमा जति भोक थियो, उत्तिकै भोक क्यामेरामा थियो। कसरी चलाउने होला भनेर उनी चासोका साथ हेर्थिन्। आफ्नो सुट सकिने बित्तिकै क्यामेराम्यानको नजिक पुगिहाल्थिन्। कसरी क्यामेरा चलाइन्छ भनेर हेर्थिन्।
‘सुटिङ स्पटमा मेरो ध्यान जहिले क्यामेराम्यानतिरै हुन्थ्यो,’ उनले भनिन्, ‘मेरो सुट सकिने बित्तिकै क्यामेरामेनको छेउमा पुगेर उसले क्यामेरा कसरी चलाउँछ भनेर हेर्थें। पछि त अभिनयमा जत्ति भोक क्यामेरा चलाउन पनि बढ्दै गयो।’
अहिलेसम्म २५ वटाभन्दा धेरै म्यूजिक भिडियो निर्देशन गरी सकिन्। छिट्टै फिल्म पनि निर्देशन गर्दै छिन्। ‘ठ्याक्कै यति भन्ने त याद भएन,’ उनले भनिन्, ‘२५ भन्दा बढी म्यूजिक भिडियो निर्देशन गरिसके, छिट्टै फिल्म पनि निर्देशन गर्दै छु।’
बालकाशीको अनुभवमा दर्शकहरुले कुन समयमा कस्तो फिल्म मन पराउँछन् भनेर बुझ्नै धेरै गाह्रो छ। नेपाली फिल्मको हकमा पनि त्यही अवस्था रहेको उनी बताउँछिन्। ‘गुरुङ भाषामा बन्ने फिल्मको हकमा त्यस्तो गाह्रो छैन, अपनत्वको भावना बढी भएको हुनाले पनि होला भीआईपी सोबाटै लगानी उठाउन सकिन्छ,’ उनी भन्छिन्, ‘विदेशमा पनि धेरै सो गर्न पाइन्छ, गुरुङ फिल्मको हकमा लगानी उठाउन त्यति गाह्रो छैन।’
गुरुङ फिल्म विस्तारै नेपाली भाषामा पनि आउने बालकाशीले बताइन्। गुरुङ जातिमा मात्र सीमित नरहेर अरुतिर पनि फैलाउने कोसिसमा आफू रहेको उनी बताउँछिन्।
फिल्ममा डेब्यू गराउने निर्देशकसँगै विवाह
बालकाशीको विवाहको प्रसंग पनि रमाइलो छ। निर्देशक भोजबहादुर गुरुङले उनलाई फिल्म क्षेत्रमा डेब्यू गराएका थिए। बालकाशीको विवाह पनि भोजबहादुरसँगै भयो। कहिलेकाही सुटिङमा आफू नभए फिल्मको स्क्रिप्ट पढेर बस्न लगाउँदा रहेछन्। सुटिङ स्पटमा पनि सधैँ आफ्नै छेउछाउ राख्दा रहेछन्। भोजबहादुरको मनमा उनका लागि भित्रभित्रै प्रेम पलाएको रहेछ। तर, उनको मनमा सधैँ अग्रजको भावना थियो।
त्यस्तै, एक दिन भोजबहादुरले आफ्नो साथीमार्फत बालकाशीलाई प्रेम प्रस्ताव राख्न लगाए। तर, उनले अस्विकार गरिन्। आफूले त्यस्तो नजरले उहाँलाई नहेरेको र उहाँलाई अग्रजको रुपमा आदर गर्ने प्रष्ट पार्दै खबर ल्याउने मान्छेलाई फर्काइन्। त्यतिले मात्र पुगेन, भोजबहादुर उनको घरसम्मै पुगे, उनको हात माग्न। घरमा सबैजना राजी भए। घरपरिवारको कुरा उनले काट्न सकिनन्। उनी पनि विवाह लागि राजी भइन्।
भोजबहादुर र बालकाशीका दुई छोरा छन्। नोम गुरुङ कक्षा ४ मा पढ्छन्, हुकुम गुरुङ एलकेजीमा। ‘विवाहपछि पनि उत्तिकै पाएकी छु, त्यसैले त म यो ठाउँसम्म आइपुगेकी छु, अरुजस्तो भए तिमी घरपरिवार, बालबच्चा हेरेर बस, म कमाउँछु पनि भन्न सक्नुहुन्थ्यो तर, त्यसो भन्नुहुन्न,’ उनले भनिन्।
श्रीमान्काे मात्र होइन, घरपरिवार, सासुससुराको पनि उत्तिकै साथ छ बालकाशीलाई। उनको परिवार नै फिल्म क्षेत्रसँग जोडिएको छ। उनीहरुको आफ्नै फिल्मी फ्यामिली विजनेस छ। मुनाल फिल्म प्रालिमार्फत उनीहरु घरमै सुटिङ, मिक्सिङ र स्टुडियोको काम गर्छन्। उनी सुटिङमा जाँदा सासुससुराले नै छोराहरुको रेखदेख गर्छन्।
कहिलेकाही छोराहरुको प्रश्न गर्छन्, ‘ममी, अरुको ममिले त भ्याकेसनमा कता कता घुमाउन लैजानु हुन्छ। तपाईंले हामीलाई किन घुमाउन नलैजानु भएको?’ यो प्रश्नले पोल्छ उनलाई। ममीको काम नै त्यस्तै छ त, भनेर सम्झाउँछिन्। कहिलेकाही मेसो मिले छोराहरुलाई पनि सुटिङ स्पटमा लैजान्छिन्। ममीको काम यस्तो छ भनेर बुझाउँछिन्।
बालकाशी एक महिला, एक बुहारी र आमा पनि। घरपरिवार, आफ्नो कामका लागि समय व्यवस्थापन गर्न निकै जटिल हुन्छ। ‘सुरुमा नबुझ्दा गाह्रो हो, नबुझेसम्म जुन क्षेत्र पनि गाह्रो लाग्छ, कुनै काम महिलालाई गर्न गाह्रो हुने भन्ने कुरामा मलाई लाग्दैन, आफ्नो क्षमता भएपछि जुन काम पनि सजिलो हुन्छ,’ बालकाशी भनिन्, ‘घरपरिवार पनि उत्तिकै बुझ्ने हुनुहुन्छ, त्यसैले पनि मलाई कुनै अप्ठ्यारो छैन।’