काठमाडाैँ - विनोद दास, यो नाम सुन्ने बित्तिकै धेरै कुरा नेपाली क्रिकेट प्रेमीको दिमागमा स्वतः आउँछ। जस्तै, नेपाली क्रिकेट टोलीको पुर्व कप्तान, एक उत्कृष्ट अलराउण्डर, नेपाली क्रिकेटलाई विकासका केही खुड्किला उकाल्ने खेलाडी।
त्यसबाहेक पनि १३ वर्षको उमेरमै जिल्लास्तरीय क्रिकेट खेल्ने खेलाडी, १४ वर्षमा ह्याट्रिक गर्ने बलर, १५ वर्षको उमेरमा यू-१९ टोलीमा परेको खेलाडीदेखि लिएर राष्ट्रिय महिला टोलीका प्रशिक्षक लगायतका कुरा जोडेर उनको व्याख्या गर्न सकिन्छ। त्यति बेलाको सानो शहर कलैयाबाट उदाएका यी नक्षत्रको क्रिकेटप्रतिको लगाव लोभलाग्दो छ। उनले आजभन्दा दुई दशक अगाडि क्रिकेट रोजे, र खेले।
केही वर्ष अघिदेखि क्रिकेट खेल्न सिकाउँदैछन्, यू-१९ र राष्ट्रिय महिला टोलीका प्रशिक्षकको रुपमा। १३ वर्षको उमेरमा नै उनले बारा जिल्लाको मुख्य टोलीमा स्थान बनाइसकेका थिए। सुन्दै आश्चर्य लाग्ने ‘१३ वर्षको नाबालक जिल्ला खेलाडी?’ हो, यस्तै विभिन्न अपत्यारिला कुराहरुलाई सम्भव पार्दै विनोद अहिले नेपाली क्रिकेट जगतमा सदैव चम्किरहने एक नक्षत्रको रुपमा स्थापित भएका छन्, कप्तान विनोद दास।
भैरहवामा भएको राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाँकेविरुद्ध हातमा बल लिएर उभिँदा विनोद मात्र १४ वर्षका थिए। त्यही खेलमा ह्याट्रिक विकेट लिएर उनले सनसनी मच्चाइदिए। त्यसपछि नेपाली क्रिकेट र विनोदको खेल जीवनबीच एक चक्र नै चलेको देख्न सकिन्छ।
तर यो भन्न कठिन छ, नेपाली क्रिकेटले विनोदलाई डोर्यायो कि विनोदले नेपाली क्रिकेटलाई? उमेरसँगै बढ्दै गयो उनको क्रिकेटमा प्रभाव र सहभागिता पनि। आफ्नो क्षमता र प्रदर्शनकै आधारमा यू-१९ टोलीमा स्थान बनाउदाँ उनी १५ वर्षका मात्रै थिए।
१९९७ मा हङकङमा भएको भएको एसीसी यू-१९ एसिया कप खेल्न जाँदा विनोदले पहिलो पटक चन्द्र सूर्य अंकित नेपालको जर्सी लगाएका थिए। उनको जुनियर क्रिकेटमा पहिलो खुड्किलो बनेको त्यो प्रतियोगितामै उनले उप-कप्तानको जिम्मेवारी पाए। १९९७ देखि ३ वर्ष जुनियर टोलीमा बिताएका विनोदले २००० मा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरे।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको ५ वर्षमै एसीसी फास्ट ट्रयाक कन्ट्रिज तीन दिवसीय श्रृखंला जित्यो। त्यो ऐतिहासिक जीत निकालेको नेपाली टोलीका कप्तान थिए, विनोद। खेलाडीको रुपमा १५ वर्ष मैदानमा बिताएका विनोदले २०१५ मा खेलजीवनबाट क्रिकेटरको रुपमा सन्यास लिए। नेपाली क्रिकेट आज जुन उचाईमा छ, त्यसमा बिनोदको १५ वर्षे खेलजिवनको पनि निकै ठुलो योगदान छ।
उनले राष्ट्रिय कीर्तिमान पनि बनाएका छन्। विनोद लगातार दुई खेलमा ह्याट्रिक गर्ने पहिलो खेलाडीसमेत हुन्। राष्ट्रिय-अन्तर्राष्ट्रिय उपाधिसँगै नेपाली क्रिकेट समर्थकसामु छुट्टै छवि बनाएका विनोदले ‘समवेदना खेल’मा बल र ब्याट बिसाए। खेलका दौरानमा बलले लागेर मृत्यु भएका अस्ट्रेलियन क्रिकेटर फिल ह्युजलाई समर्पित गरी आयोजना गरिएको खेलको अन्त्यसँगै विनोदले सन्यासको घोषणा गरेका थिए।
नेपालको पहिलो स्टार क्रिकेटरको रुपमा स्थापित भएका विनोद पहिलो यू-१९ कप खेल्न हङकङको उडानलाई आफ्नो जीवनको अविस्मरणीय क्षण मान्छन्। उनी भन्छन्, ‘सानो ठाउँ बाराबाट आएको थिएँ। नेपालको जर्सी लाएर खेल्न पाउँदा अत्यन्तै खुशी भएँ। पत्रिकामा फोटो आयो आमाबुवा अत्यन्तै खुशी हुनुभयो।’ आफू पहिलो पटक त्यसै क्रममा प्लेन चढेको रमाइलो अनुभव पनि विनोद सुनाउँछन्।
ब्याक टु ब्याक ह्याट्रिक
अलराउण्डर विनोदले तुलनात्मक रुपमा बलिङमा बढि सफलता पाए। यो सफलतालाई उनका ब्याट टु ब्याक ह्याट्रिकले पनि सार्थक बनायो। अहिलेसम्म कुनै नेपाली खेलाडीले तोड्न नसकेको लगातार २ ह्याट्रिकको कीर्तिमान उनकै नाममा छ। विनोदले २०५६-२०५७ सालको राष्ट्रिय प्रतियोगितामा बाँके र झापाविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए।
जायन्ट किलर्सका कप्तानसँगै राष्ट्रिय टोलीका उपकप्तान
सन् २००२ मा न्युजिल्यान्डमा भएको यू-१९ विश्वकपमा नेपालले सनसनी मच्चायो। विश्व क्रिकेटका महारथी पाकिस्तान र बंगलादेशलाई हराउँदै फाइनलमा पुग्दा नेपाली टोलीको नाम नै परिवर्तन भएको थियो। ‘जायन्ट किलर्स’ उपनाम दिइएको नेपाली टोलीको कप्तान विनोद नै थिए। त्यसैले उनको उपनाम पनि ‘क्याप्टेन अफ जायन्ट किलर्स’ बनेको थियो।
न्युजिल्यान्डमा हासिल गरेको यो उपलब्धीसँग विनादले २००२मा एसीसी ट्रफी खेल्न सिंगापुर पुगेको नेपाली टोलीको उपकप्तानको जिम्मेवारी पाए। सेमिफाइनलमा मलेसियाविरुद्ध कप्तानी पारी खेल्दै टोलीलाई फाइनलमा पुर्याउन विनोदले ३८ रन जोडेका थिए।
कप्तान बने, पहिलो गाँसमै ढुंगा
परेश लोहनीको कप्तानीमा हङकङसँग पराजित भएपछि नेपाली टोलीलाई नयाँ नेतृत्वको आवश्यकता थियो। सो अवस्थामा जुनियर टोलीको कप्तान हुँदै राष्ट्रिय टोलीको उपकप्तान भइसकेका विनोदलाई राष्ट्रिय टोलीको कप्नानको जिम्मेवारी सुम्पिइएको थियो।
विनोदको नेतृत्वमा विश्व क्रिकेट श्रृंखला खेल्न मलेसिया पुगको नेपाली टोली फिजीसँग ३ रनले पराजित भयो। आफ्नो नेतृत्वमा पहिलो खेल पराजित भएको उक्त क्षण विनोदका लागि पहिलो गाँसमा ढुँगा साबित भयो। मलेसियाबाट फर्किदा विमानस्थलमा आँसु रोक्न नसकेको उनी सुनाउँछन्।
आफ्नै कप्तानीमा प्रथम उपाधि
एसीसी प्रिमियर लिग थ्री डे प्रतियोगिता आफ्नो नाममा बनाउन विनोदको कप्तानीमा रहेको नेपाली टोलीले यूएई, मलेसिया, हङकङ र सिंगापुरलाई पछाडी पार्यो। जुन प्रतियोगितामा विनोद सबैभन्दा बढी १८ विकेट लिँदै सवार्धिक विकेट लिने खेलाडी बने। सोही प्रतियोगितामा गरेको प्रदर्शनीका आधारमा विनोदलाई उत्कृृष्ट खेलाडीको अवार्डसमेत प्रदान गरिएको थियो।
चार सेमिफाइनलमा अड्किए
२००५ मा विश्व क्रिकेट श्रृंखला छनोट, २००६-०८ एसीसी ट्रफी र २००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभमा नेपालको यात्रा सेमिफाइनलमै टुंगिएको थियो। नेपालको खराब प्रदर्शनका कारण दबाबमा आएको उनको कप्तानी पारस खड्कालाई सुम्पिइयो। कप्तानको जिम्मेवारीबाट मुक्त भएका विनोदले प्लेइिङ सेटमा स्थान बनाउन पनि संघर्ष गर्नुपर्यो। २०११ मा काठमाडौँमा भएको एसीसी टी-२० मा विनोद अन्तिम खेलमा मात्र टोलीमा अटाए।
नेपाली टोली २०१२ मा डिभिजन फोर खेल्न मलेसिया पुग्दा उनले पनि पुनरागमन गरे तर यूएईमा भएको इलिट कपमा चोटका कारण एक खेल खेल्न सकेनन्। र अन्ततः तीन वर्षपछि खेलाडीको रुपमा फेरी मैदानमा नउत्रिने निणर्य गर्दै विनोदले ब्याट र बल बिसाए।

खेलाडीको रुपमा विदाभए पनि विनोदले क्रिकेटलाई छाडेनन्। उनी एसीसीका तेस्रो स्तरका प्रमाणीत प्रशिक्षक हुन्। ‘आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु २०१५’ को तयारीका क्रममा नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षकको रुपमा चुनिएका थिए। हाल उनी नेपालको राष्ट्रिय महिला टोली र यू-१९ टोलीका प्रशिक्षक हुन्। विनोदकै नेतृत्वमा नेपाली महिला क्रिकेट टोली उपविजेता बनेको थियो। त्यस्तै नेपालले आईसीसी टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा पनि विनोदले नेपाली महिला टोलीको नेतृत्व गरेका थिए।