काठमाडौँ - विश्व खेलकुद जगतको पछिल्लो अवस्था हेर्दा ३० वर्ष नलाग्दै खेलाडीको उमेर बढी भएको मूल्याङ्कन गरिन थालिएको छ। क्रिकेटमा ४०–४२ वर्षसम्मका खेलाडीहरू सक्रिय रहेको देख्न सकिन्छ। तर, फुटबलको सन्दर्भमा ३०–३२ वर्षलाई नै अधिक मान्न थालिएको छ।
नेपालको सन्दर्भमा पनि त्यस्तै अवस्था रहेको पाइन्छ। हुनतः विकसित देशहरूको तुलनामा निरन्तर व्यायाम र खानपानको कमीका कारण नेपाली खेलाडीहरू छिट्टै थला पर्छन्। तर, यी सबै कुराको विपक्षमा उभिने पात्र बने झापा, दमकका पूर्व भलिबल खेलाडी शैलेन्द्र श्रेष्ठ।
५१ वर्षको उमेरसम्म भलिबल कोर्टमा उत्रिएका श्रेष्ठ नचाहँदा नचाहँदै पनि चोटका कारण कोर्टबाट टाढा रहन बाध्य भएका छन्। नेपालको राष्ट्रिय टोलीमा समावेश भई दुईवटा साफ गेम खेलेका श्रेष्ठ अझै पनि जिल्ला र क्षेत्रस्तरमा हुने प्रतियोगिताहरूमा सक्रिय हुने गरेका छन्।
सन् १९८९ मा बङ्गलादेशको ढाकामा भएको पाँचौँ र सन् १९९२ मा श्रीलङ्काको कोलम्बोमा भएको छैटौँ साफ गेम खेलेका श्रेष्ठ घुँडाको समस्याका कारण पछिल्लो १ वर्षदेखि मैदानबाहिर छन्। झापाली टिमको कप्तानी गर्दै रेजिना रनिङ शिल्डमा सहभागी हुन एक वर्षअघि सङ्खुवासभा पुगेका श्रेष्ठ सोही प्रतियोगितादेखि मैदानबाहिर छन्। उनी भन्छन्, ‘मसँगै खेलेका साथीहरू भलिबलदेखि टाढा भएकाे धेरै भइसक्याे।’
धनकुटाको ताङ्खुवामा जन्मेर झापा झरेका उनका परिवारका सबै पाँचै दाजुभाइ खेलसँग जोडिएका थिए। र, सबै फुटबल खेलाडी थिए। श्रेष्ठ पनि गोलकिपर हुँदै भलिबल कोर्टसम्म पुगेका रहेछन्।
२०३९ सालमा भएको वीरेन्द्र शिल्डमा हिमालय मावि, झापाको टिमबाट सहभागी हुँदै आफ्नो भलिबलको खेल जीवन शुरुवात भएको उनले बताए। त्यसपछि मेची अञ्चलको टिम र २०४२ सालमा राष्ट्रिय टोलीको सदस्य हुँदै उनको खेल यात्रा अगाडि बढ्यो।
राष्ट्रिय टिममा परेलगत्तै काठमाडौँमा ३ र थाइल्यान्डमा ४ महिने बन्द प्रशिक्षण तालिम लिएपछि उनको भलिबल कौशलमा निखारता मात्रै आएन, आयल निगममा खेलाडीकै रूपमा जागिरसमेत पाए। ‘महिनाको ३२ सय रुपैयाँ तलब पाइन्थ्यो।’
आफ्नो पालाभन्दा अहिले खेलाडीहरूमा आलस्य बढेको र मेहनत कम गर्ने बानीको विकास भएको बताउँदै उनले भने ‘हाम्रो समयमा अहिलेजस्तो थिएन, मिडिया थिएन, प्रविधि थिएन, हामी अभ्यास गर्थौं।’ झापाको लखनपुरमा आयोजित भलिबल प्रतियोगितामा उपस्थित श्रेष्ठले भने, ‘तर अहिले खेलाडीहरू प्रविधिमै व्यस्त हुन्छन्, अल्छी गर्छन्।’
श्रेष्ठले निगममा ५ वर्ष, नेपाल प्रहरीमा १ वर्ष र विद्युत् प्राधिकरणमा ५ वर्ष खेलाडी भएर जागिर खाएका रहेछन्। ६ फिट २ इञ्च अग्ला श्रेष्ठको खेलजीवन निरन्तर उकालो लाग्दालाग्दै एउटा नमिठो घटनाले पछाडि फर्केको तीतो अनुभव उनी सुनाउँछन्।
सन् १९९५ मा भारतको मद्रासमा हुने सातौँ साफ गेमको तयारीका क्रममा प्रशिक्षकको गाली र दुव्र्यवहार सहन नसकेर टिमका ‘क्विक स्पाइकर’ उनले आफ्नो सफलतामय खेल जीवनबाट पिँठ फर्काए। ‘त्यसपछि टिममा बस्नै मन लागेन। भलिबलबाटै विरक्तिएँ,’ उनले भावुक हुँदै भने। त्यसपछि नेपालका साथै भारतका विभिन्न स्थानमा हुने प्रतियोगिताहरूमा उनको उपस्थिति बाक्लिएको थियो।
‘साथीभाइ बनाइयो। दाम नभए पनि नाम छ, यसैमा म खुशी छु,’ त्यतिका लामो खेल जीवनप्रति उनको कुनै गुनासो छैन। ‘जे होस्, भलिबलमा एक जुग नै बिताइएछ।’ यसो भन्दै उनी ‘नोस्टाल्जिक’ भए।
नयाँ पुस्ताका खेलाडीहरूलाई उनी घरव्यवहार बिगारेर खेलमा नलाग्न सल्लाह दिन्छन्। पढाइ र आर्थिक स्थिति नै बिग्रने गरी खेलेर अझै पनि भविष्य बन्ने अवस्था आइनसकेको उनले बताए। ‘यद्यपि, खेलमा अनुशासन हुनु अत्यन्त आवश्यक हुन्छ। तर नयाँ पुस्ताका खेलाडीहरूमा अनुशासनको अत्यन्त कमी देखिन्छ,’ उनले भने। अनुशासित खेलले जीवनको अन्य क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने उनकाे बुझाई छ।
श्रेष्ठ अहिले धेरै नेपाली खेलाडीको प्रेरणाको स्रोत बनेका छन्। निरन्तरता, मेहनत र शालीनता सबै कुराको संयोजन गर्दै यति लामो खेलजीवनलाई डोर्याएका श्रेष्ठ हाल झापा भलिबल सङ्घका अध्यक्ष रहेका छन्। उनी भन्छन् ‘अझै ५–६ वर्ष खेल्ने लक्ष्य थियो तर ज्यानले साथ दिएन।’
जीविकोपार्जनका लागि यातायात व्यवसायमा आबद्ध श्रेष्ठले आगामी दिनमा जिल्लाका खेलाडीहरूको भविष्य सुरक्षित बनाउन लागिपर्ने योजना बनाएका छन्। राज्यले खेलकुदलाई सुरक्षित रोजगारीको माध्यम बनाउने हो भने लुकेर रहेका प्रतिभावान् खेलाडीलाई बाहिर ल्याउन सकिने उनले बताए।
शिक्षा तथा व्यवसायलाई नै छाडेर खेलकुदमा लाग्ने अवस्था नेपालमा अझै आइनसकेको श्रेष्ठ बताउँछन्। त्यसै कारणले पनि आफ्ना दुई छोरालाई यसतर्फ प्रोत्सान गर्नुको सट्टा पढाइमै लगाएको उनले बताए। श्रेष्ठको परिवारमा श्रीमती र दुई छोरा छन्। जेठा छोरा इञ्जिनीयरिङ गरिरहेका छन्। त्यस्तै कान्छा छोरा स्वीमिङ पुलको व्यवसाय सञ्चालन गरिरहेका छन्।