काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
प्रतिवेदनमा आफ्नो चार वर्षे नेतृत्वको समीक्षा गर्दै कांग्रेसले आगामी दिनमा लिनुपर्ने राजनीतिक, वैचारिक तथा संगठनात्मक बाटोबारे विस्तृत धारणा अघि सारिएको छ। सभापति थापाले प्रस्तुत गरेको प्रतिवेदनमा नयाँ नेतृत्वले आगामी दिनमा निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारीलाई यही महाधिवेशनबाट स्पष्ट दिशा दिनुपर्ने उल्लेख गरेका छन्। प्रतिवेदनमा कांग्रेसको आगामी चार वर्षे नेतृत्वलाई मुलुकको आगामी दशकको राष्ट्रिय आकांक्षासँग जोडेर हेर्ने प्रयास गरिएको छ। पार्टी नेतृत्वले तत्कालीन राजनीतिक व्यवस्थापनमा मात्र सीमित नभई देशको दीर्घकालीन आवश्यकता र नागरिकका अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ।
थापाले प्रतिवेदनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ लाई कांग्रेसको भावी राजनीतिक यात्राको प्रमुख संकल्पका रूपमा अघि सारेका छन्। यसलाई कांग्रेसको विगतको राजनीतिक विरासत, वर्तमानमा गर्नुपर्ने सुधार र भविष्यप्रतिको राष्ट्रिय आकांक्षाबीचको सम्बन्धका रूपमा व्याख्या गरिएको छ। प्रतिवेदनअनुसार ‘राष्ट्रिय पुनर्जागरण’ भन्नाले कमजोर हुँदै गएको पार्टी, राज्य र नागरिकबीचको विश्वास पुनःस्थापित गर्नुका साथै लोकतान्त्रिक प्रणालीको सामर्थ्यलाई थप बलियो बनाउनु हो।
नागरिकमा देखिएको निराशा र संस्थाप्रतिको कमजोर विश्वासलाई सम्बोधन गर्दै लोकतन्त्रलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा कांग्रेस अघि बढ्नुपर्ने धारणा थापाले राखेका छन्।प्रतिवेदनमा आगामी नेतृत्वले संगठन सुदृढीकरणसँगै पार्टीको राजनीतिक र वैचारिक भूमिकालाई समेत नयाँ ढंगले परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। कांग्रेसले विगतका उपलब्धिबाट सिक्दै कमजोरी सुधार गरेर नयाँ राष्ट्रिय आकांक्षासँग आफूलाई जोड्नुपर्नेमा जोड दिइएको छ। सभापति थापाको प्रतिवेदनले मूलतः कांग्रेसको चार वर्षे नेतृत्वको समीक्षा, आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशा र देशको दीर्घकालीन समृद्धिसँग पार्टीको भूमिकालाई जोड्ने प्रयास गरेको देखिन्छ।
याे पनि पढ्नुहाेस्