काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भोजपुरका रोहित विश्वकर्माले केन्द्रीय सदस्यको दलिततर्फबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टी संगठन तथा वैचारिक गतिविधिमा लामो समयदेखि सक्रिय विश्वकर्माले दलित र सीमान्तकृत समुदायको नीति निर्माण, संगठन तथा नेतृत्व तहमा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले उम्मेदवारी अघि सारेको बताएका छन्।विश्वकर्माले २०५१ सालमा नेपाल विद्यार्थी संघको इकाइ कार्यसमितिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि नेपाल दलित संघ भोजपुरमा तीन कार्यकाल सचिव र दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका उनी दलित संघको चौथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका थिए।
कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा भोजपुरबाट महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका विश्वकर्मा २०७४ र २०७९ को निर्वाचनमा भोजपुर प्रदेशसभा १ क बाट समानुपातिक उम्मेदवारसमेत बनेका थिए।उम्मेदवारी घोषणा गर्दै उनले दलित तथा सीमान्तकृत समुदायका विषयलाई पार्टीको मूल राजनीतिक बहसमा स्थापित गर्ने, युवाको राजनीतिक सहभागिता बढाउने तथा दलित समुदायसँग रहेका परम्परागत सीप र क्षमतालाई आधुनिक प्रविधि तथा बजारसँग जोड्ने नीति अघि बढाउने बताएका छन्।त्यसका लागि सीपको व्यावसायीकरण, बजारीकरण र सहुलियतपूर्ण कर्जाको पहुँच विस्तार गर्न पहल गर्ने उनको भनाइ छ।