काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको वर्तमान राजनीतिक अवस्था गम्भीर बन्दै गएको बताएका छन्।
उनले देशको राजनीति अँध्यारो सुरुङतर्फ धकेलिएको र संविधान तथा वर्तमान राजनीतिक व्यवस्थामै सुधार आवश्यक रहेको धारणा राखेका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले केही वर्षअघिको राजनीतिक अवस्था र अहिलेको परिस्थितिबीच ठूलो परिवर्तन नआएको बताएका छन्। उनले कांग्रेसको अघिल्लो महाधिवेशनमा प्रमुख नेताहरूको उपस्थिति भए पनि अहिले उनीहरू देखिनु र नदेखिनुले मात्र देशको समस्या समाधान नहुने बताएका छन्।
लिङ्देनले निर्वाचनपछि नेतृत्व परिवर्तन हुँदैमा मात्रै मुलुकका समस्या समाधान नहुने बताएका छन्। उनका अनुसार समस्या व्यक्तिमा मात्र सीमित नभई संविधान र राजनीतिक व्यवस्थासँग पनि जोडिएको छ। त्यसैले संविधानमा देखिएका कमजोरी सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन्। विगतमा राजा र राजनीतिक दलबीच एकअर्कालाई निषेध गर्ने प्रवृत्तिले मुलुकलाई समस्यातर्फ धकेलेको बताएका छन्। अहिले फरक मत राख्नेहरूबीच सामाजिक सञ्जालमार्फत आक्रमण हुने अवस्था देखिएको उल्लेख गर्दै लिङ्देनले राजनीतिक सहिष्णुता आवश्यक रहेको बताए।
देशलाई निकास दिन राजा, राजनीतिक दल र नयाँ पुस्ताबीच संवाद तथा समझदारी आवश्यक रहेको उनको धारणा छ। देश संकटमा पर्दा त्यसको असर सबैलाई पर्ने भन्दै उनले राष्ट्रिय सहमतिका आधारमा नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन्।लिङ्देनले कांग्रेसको १५औँ महाधिवेशनले मुलुकको वर्तमान राजनीतिक अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्दै आगामी बाटोका लागि आवश्यक मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरेका छन्।