काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले गणतन्त्र स्थापनापछि थारू समुदायको पहिचान र अधिकारका विषयमा प्रश्न उठाएका छन्।
काठमाडौंमा आइतबार सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई शुभकामना दिने क्रममा चौधरीले कांग्रेस सभापति गगन थापातर्फ प्रश्न गर्दै १९ दिने जनआन्दोलनपछि आएको परिवर्तनसँगै धर्म र पहिचानको विषय किन जोडियो भन्ने जिज्ञासा राखेका हुन्।चौधरीले आफूहरू राजनीतिक परिवर्तनका नाममा आफ्नो पहिचानसँग सम्झौता गर्ने पक्षमा नरहेको बताए। उनले संविधान निर्माणमा कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको र कमैया मुक्ति जस्ता काममा पनि योगदान गरेको उल्लेख गरे।
संविधानमा थारू समुदायका अधिकार उल्लेख भए पनि व्यवहारमा ती अधिकार पूर्ण रूपमा कार्यान्वयन नभएको चौधरीको भनाइ थियो। उनले थारू समुदायबाट प्रधानमन्त्री, प्रधानसेनापति र मुख्यसचिवजस्ता उच्च जिम्मेवारीमा कहिले प्रतिनिधित्व हुने भन्दै प्रश्न गरे।चौधरीले राजनीतिक परिवर्तनसँगै समुदायको पहिचान, अधिकार र प्रतिनिधित्वका विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।