काठमाडौं । राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम घिमिरेले विभिन्न सहकारीमा जम्मा भएको ठूलो रकम हिनामिना भएको विषयमा प्रश्न उठाएका छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले सहकारी बचतको विषय उठाएका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ संकेत गर्दै सहकारीमा जम्मा भएको रकमबारे प्रश्न गरेका थिए।घिमिरेले विभिन्न सहकारीमा सर्वसाधारणले जम्मा गरेको अर्बौँ रुपैयाँको बचत दुरुपयोग भएको दाबी गर्दै त्यसबारे जवाफदेहिता आवश्यक रहेको बताए। उनको सम्बोधनका क्रममा सहकारी रकमसम्बन्धी विषय उठाउँदा कार्यक्रमस्थलबाट हुटिङसमेत भएको थियो।
उनले जलवायु परिवर्तनका कारण भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो भौतिक क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माण तथा क्षतिपूर्तिमा ध्यान दिनुपर्ने धारणा राखे।घिमिरेले आफूहरूले संघर्ष गरेर ल्याएको गणतन्त्रसमेत चुनौतीमा परेको बताएका थिए। उनले गणतन्त्र, जनअधिकार तथा राष्ट्रिय हितका विषयमा राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए।