काठमाडौं ।इजरायली सेनाले गाजामा हमासका वरिष्ठ अधिकारी अली अहमद अल–अमौदीलाई लक्षित गरी राति हवाई हमला गरेको पुष्टि गरेको छ।
शनिबार सार्वजनिक भएका विवरणबारे प्रतिक्रिया दिँदै इजरायली सेनाले अल–अमौदीलाई लक्षित गरेर आक्रमण गरिएको जनाएको हो। तर, हमलापछि उनी घाइते भए वा मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन जानकारी सार्वजनिक भएको छैन। घटनाको परिणामबारे अनुसन्धान भइरहेको सेनाले जनाएको छ।
इजरायली सेनाका अनुसार अल–अमौदी बस्दै आएको अपार्टमेन्ट हमासले कथित रूपमा गतिविधि सञ्चालन गर्न प्रयोग गर्दै आएको थियो। सेनाले उनलाई हमासको राजनीतिक ब्युरोका उपाध्यक्ष तथा गाजामा रहेका संगठनका उच्च तहका अधिकारीमध्ये एकका रूपमा उल्लेख गरेको छ।सेनाले अल–अमौदीले यसअघि हमासका तत्कालीन नेता याह्या सिनवारका व्यक्तिगत सहायकका रूपमा काम गरेको दाबीसमेत गरेको छ। सिनवारको दुई वर्षअघि इजरायली सेनाको कारबाहीमा मृत्यु भएको थियो।
त्यस्तै, सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको हमासको आक्रमणसँग सम्बन्धित निर्णय प्रक्रियामा पनि अल–अमौदीको भूमिका रहेको इजरायली सेनाको दाबी छ।यद्यपि, पछिल्लो हवाई हमलामा अल–अमौदीको अवस्था के भयो भन्नेबारे इजरायली पक्षबाट अन्तिम पुष्टि भने भइसकेको छैन।