काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा एसिया–प्रशान्त क्षेत्रबाट केन्द्रीय सदस्य पदका उम्मेदवार नारायणप्रसाद सुवेदीले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
नेपाली जनसम्पर्क समिति जापानका पूर्वसभापति तथा नेपाली कांग्रेसका महासमिति सदस्य सुवेदीले विश्वभर रहेका नेपालीको अनुभव, सीप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्ने उद्देश्यसहित आफू अघि बढेको बताएका छन्। उनले “सबल कांग्रेस, समृद्ध नेपाल” भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल्य–मान्यतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुवेदीले एसिया–प्रशान्त क्षेत्रमा रहेका नेपाली कांग्रेसका शुभेच्छुक तथा कार्यकर्ताबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै प्रवासी नेपालीको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने योजनालाई जोड दिएका छन्। उनको उम्मेदवारीप्रति नेपाली जनसम्पर्क समिति जापानका पदाधिकारी तथा शुभेच्छुकहरूले शुभकामना व्यक्त गरेका छन्।