काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (महिला तर्फ) का लागि रबिना थापाले उम्मेदवारी घोषणा गरेकी छन्।
नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै लामो समयदेखि गैरआवासीय नेपाली अभियान, सामाजिक सेवा, महिला सशक्तीकरण तथा विश्वभर रहेका नेपाली समुदायसँग सहकार्य गर्दै आएकी थापाले आफ्नो अनुभवलाई अब नेपाली कांग्रेसको संगठन विस्तार र नीतिनिर्माणमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएकी छन्।
उनले लोकतन्त्र र समावेशिता, महिला तथा युवाको अर्थपूर्ण सहभागिता, प्रवासी नेपालीको हकहित, स्वदेशमै रोजगारी र उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक विकासलाई आफ्नो प्राथमिकतामा राखेकी छन्। थापाले नेपालमा लगानी र रोजगारीका अवसर विस्तार गर्न होटल, जलविद्युत्, बैंकिङ तथा रेमिट्यान्सलगायतका क्षेत्रमा लगानी र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्। विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्नुपर्ने उनको भनाइ छ।
विशेषगरी गैरआवासीय नेपाली तथा दोस्रो पुस्ताका युवालाई मातृभूमिसँग थप जोड्दै उनीहरूको क्षमता र अनुभवलाई नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणमा उपयोग गर्ने आफ्नो प्राथमिकता रहेको थापाले बताएकी छन्। गैरआवासीय नेपाली संघको नेतृत्वमा रहँदा विश्वभरका नेपाली समुदायका समस्या, सम्भावना र अपेक्षालाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनले त्यही अनुभवलाई अब नेपाली कांग्रेसको नीतिनिर्माण तहमा पुर्याउने बताएकी छन्।
महिला, युवा तथा प्रवासी नेपालीको आवाजलाई पार्टीको नीति र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ। आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पनि महिला र युवाको नेतृत्व विकास, डायस्पोराको ज्ञान तथा सीपलाई मातृभूमिसँग जोड्ने र समावेशी तथा लोकतान्त्रिक नेपाल निर्माणमा योगदान दिने अभियानका रूपमा प्रस्तुत गरेकी छन्। थापाले आफ्नो उम्मेदवारीमा नेपाली कांग्रेसका नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नेपाली जनसम्पर्क समितिका प्रतिनिधि तथा देश–विदेशमा रहेका नेपालीको साथ र समर्थनको अपेक्षा गरेकी छन्।