काठमाडौं । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेसलाई जनतासँग पुनः जोड्दै पार्टीलाई बलियो, व्यवस्थित, पारदर्शी र जनमुखी संगठनका रूपमा अघि बढाउने उद्देश्यसहित आफूले महामन्त्रीमा उम्मेदवारी दिएको कर्णले बताएका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै कर्णले बदलिएको राजनीतिक परिस्थितिअनुसार कांग्रेसको संगठन र कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका हुन्।
कर्णले आफ्नो उम्मेदवारीसँगै क्रियाशील सदस्यता प्रणालीमा सुधार, वडा तहदेखि केन्द्रसम्म संगठनको पुनर्संरचना, कार्यकर्ताको सम्मान र सहभागिता, युवालाई नेतृत्वमा अवसर, नियमित राजनीतिक प्रशिक्षण तथा नेतृत्व र कार्यकर्ताबीच प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका छन्।
त्यस्तै पार्टीलाई अधिवेशन र निर्वाचनका बेला मात्र सक्रिय हुने संगठनका रूपमा नभई नियमित रूपमा जनताको बीचमा पुग्ने र जनताका वास्तविक समस्या तथा मुद्दालाई पार्टीको राजनीतिक एजेन्डासँग जोड्ने संगठनका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ।
कर्णले आफ्नो उम्मेदवारी कुनै पद प्राप्तिका लागि मात्र नभई संगठन सुधार, नयाँ राजनीतिक संस्कार निर्माण र कांग्रेस तथा जनताबीचको सम्बन्ध पुनः स्थापित गर्ने उद्देश्यका लागि भएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पदमा विभिन्न नेताहरूले उम्मेदवारी घोषणा तथा तयारी अघि बढाइरहेका छन्। कर्ण पनि महामन्त्रीका आकांक्षीका रूपमा चर्चामा छन्।
कर्ण नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा पूर्व संविधानसभा सदस्य हुन्। हाल उनी नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्यसमेत छन्। संसद्को आधिकारिक विवरणअनुसार उनको वर्तमान संसदीय कार्यकाल २०८२ देखि जारी छ।