काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै शर्माले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसलाई आमनागरिकसँग अझ नजिक बनाउने उद्देश्यले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको शर्माले बताए। उनले पार्टीको राजनीतिक गतिविधिलाई देशका दूरदराजसम्म विस्तार गर्दै सर्वसाधारणका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरे। शर्माले आफूले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरिसकेको बताएका छन्। लोकतन्त्र पुनर्स्थापनाको अभियानमा विगतमा नेपालसँगै भारत र अमेरिकासम्म पुगेर विभिन्न तहमा राजनीतिक गतिविधि तथा ‘लविङ’ गरेको स्मरण गर्दै उनले कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको दाबी गरे।
शर्मा मोरङ–३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। त्यसअघि उनी बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए। शर्माले २०५४ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।