काठमाडौँ । नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले खस–आर्यतर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
अन्तरमनको आवाज र पार्टीका अग्रजहरूको सुझावलाई आत्मसात् गर्दै सह–महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको कोइरालाले बताएका छन्। विचार, विश्वास र संगठनप्रतिको प्रतिबद्धतासहित पार्टीको नेतृत्व तहमा भूमिका निर्वाह गर्ने उद्देश्यले उम्मेदवारी दिन लागेको उनको भनाइ छ। आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टीलाई थप बलियो र संगठित बनाउने अभियानका रूपमा अघि बढाउने उनले बताएका छन्।
कोइरालाले पार्टीका नेता तथा कार्यकर्तासँग साथ, समर्थन, विश्वास र अमूल्य सुझावका लागि आग्रह गरेका छन्। कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै सबैलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो अभियानमा सहयोग र समर्थनका लागि अपिल गरेका छन्। ‘सँगै उभिऔँ, सँगै अघि बढौँ र नेपाली कांग्रेसलाई अझ बलियो बनाऔँ’ भन्दै कोइरालाले खस–आर्यतर्फबाट सह–महामन्त्री पदमा आफ्नो उम्मेदवारीका लागि पार्टीका नेता तथा कार्यकर्तासँग साथ र समर्थनको आग्रह गरेका छन्।