काठमाडौं ।नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकारले निर्माण गरेका आधारभूत अस्पतालहरू आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र औषधिको अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको विषय प्रतिनिधिसभामा उठाएका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद केरुङले ग्रामीण क्षेत्रका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सरकारसमक्ष १० वटा प्रश्न र ७ वटा ठोस सुझावसमेत प्रस्तुत गरे।आफ्नो निर्वाचन क्षेत्र पाँचथरका ग्रामीण बस्तीमा स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको उल्लेख गर्दै केरुङले अस्पतालका भवन निर्माण भए पनि त्यसअनुसार सेवा सञ्चालनको व्यवस्था हुन नसकेको बताए।
संघीय सरकारले देशभर ६ सय ५७ वटा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको भए पनि धेरै स्थानमा भवन तयार भएर पनि नियमित उपचार सेवा उपलब्ध हुन नसकेको उनको भनाइ छ। संघ, प्रदेश र स्थानीय तहबीच अस्पताल सञ्चालनको जिम्मेवारी र स्रोत व्यवस्थापनमा स्पष्ट समन्वय हुन नसक्दा समस्या देखिएको उनले बताए।केरुङले अस्पताल सञ्चालनका लागि स्थानीय तहसँग पर्याप्त बजेट, चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी र आवश्यक पूर्वाधार नभएको विषय पनि उठाए। उनका अनुसार अस्पतालका भवन निर्माण गर्नु मात्रै पर्याप्त नभई त्यहाँबाट नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था आवश्यक छ।
महालेखा परीक्षकको प्रतिवेदनमा समेत निर्माण सम्पन्न भएका कतिपय अस्पताल जनशक्ति तथा मेडिकल उपकरणको अभावमा प्रयोगविहीन अवस्थामा रहेको उल्लेख भएको उनले स्मरण गराए।ग्रामीण क्षेत्रका आधारभूत अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारीसहित तत्काल समन्वय गर्नुपर्नेमा सांसद केरुङले जोड दिए। उनले आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था, उपकरण उपलब्धता र औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।