काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री बन्ने तयारीमा रहेका डा. सुनील शर्माको यात्रा अब औपचारिक रूपमा अघि बढेको छ।
मोरङ–३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै उनको महामन्त्री यात्राले औपचारिक चरण प्रवेश गरेको हो। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गरे। उनले कुल सदरमतको ८२ दशमलव २८ प्रतिशत मत पाएका हुन्।
शर्माको महाधिवेशन यात्रा भने वडा तहबाटै सर्वसम्मत रूपमा सुरु भएको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए। त्यसपछि क्षेत्रीय प्रक्रियाबाट अघि बढ्दै उनी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेका शर्माका लागि मोरङ–३ को परिणामले अब पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्ने औपचारिक बाटो खोलेको छ।
स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा सक्रिय शर्मा २०५४ सालदेखि कांग्रेसको राजनीतिमा छन्। उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका छन्।
जनतासँग प्रत्यक्ष जोडिएर राजनीति गर्नुपर्ने धारणा राख्दै आएका शर्माले नेता र कार्यकर्ताबीचको दूरी घटाउने तथा जनताका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राख्नुपर्ने बताउँदै आएका छन्।
वडा प्रतिनिधिमा सर्वसम्मत हुँदै सुरु भएको यात्रा मोरङ–३ बाट ६५० मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म आइपुगेको छ।