काठमाडौं ।राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै रिजालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विभिन्न विषयमा जवाफ मागेका हुन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा र भूभागसम्बन्धी विषयमा दिएको भनाइको तथ्य सार्वजनिक गर्न माग गरे। यदि त्यस्तो दाबी पुष्टि नहुने भए प्रधानमन्त्रीले संसद्मा आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।संयुक्त राष्ट्रसंघको महासभाका क्रममा नेपालका प्रधानमन्त्रीले अन्य मुलुकका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्न नसकेको विषयमा पनि रिजालले प्रश्न उठाए। उनले यस्तो अवस्था कूटनीतिक समन्वयको कमजोरी हो वा अन्य देशले नेपाललाई पर्याप्त महत्त्व नदिएको अवस्था हो भन्नेबारे स्पष्ट पार्न सरकारसँग माग गरे।
त्यस्तै, संविधान कार्यान्वयनका लागि आवश्यक विधेयक समयमै संसद्मा ल्याउनुपर्नेमा अध्यादेशको बाटो रोजिएको भन्दै उनले आपत्ति जनाए। राष्ट्रियसभाले कानुन निर्माणमा अवरोध गरिरहेको भन्ने भाष्य निर्माण गर्न खोजिएको आरोपसमेत उनले लगाए।सरकारले मन्त्रालयको संख्या घटाए पनि मन्त्री तथा प्रधानमन्त्रीका सचिवालयमा ठूलो संख्यामा कर्मचारी तथा पदाधिकारी राखिएको विषयमा पनि रिजालले प्रश्न उठाए। उपलब्ध विवरणमा प्रधानमन्त्री र १६ मन्त्रीका सल्लाहकार तथा स्वकीय कर्मचारीको संख्या एक सय २८ रहेको सार्वजनिक भएको छ।
रिजालले राजनीतिक पूर्वाग्रहका आधारमा धरपकड भइरहेको भन्ने आफ्नो दाबी राख्दै यस्तो अवस्था कहिलेसम्म जारी रहने हो भन्ने प्रश्न गरे। साथै, जेन–जी समुदायलाई लक्षित गरी भ्रम वा त्रास फैलाउने तथा उनीहरूलाई बदनाम गर्ने प्रयास भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।सरकारको सञ्चार नीतिमाथि पनि प्रश्न उठाउँदै उनले सरकारी गतिविधिको प्रचारका लागि सत्तारूढ दलका सांसदलाई समाचार वाचन गराउनुपर्ने अवस्था किन आयो भन्नेबारे सरकारसँग जवाफ मागेका छन्।