काठमाडौं ।सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यको पद यथाशीघ्र पूर्ति गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।
राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचित सदस्यतर्फ रिक्त रहेको पदका लागि निर्वाचन आयोगले प्रचलित कानुनअनुसार उपनिर्वाचनको प्रक्रिया अघि बढाइरहेको जानकारी दिइन्।त्यस्तै, राष्ट्रपतिबाट सरकारको सिफारिसमा मनोनित हुने सदस्यको पद पनि छिट्टै पूर्ति गर्ने तयारी भइरहेको उनले बताइन्। यसका लागि संविधानले सुनिश्चित गरेको समावेशिता, सम्बन्धित व्यक्तिको योग्यता, राष्ट्रिय जीवनमा पुर्याएको योगदान तथा राष्ट्रियसभाको गरिमा र भूमिकालाई आधार बनाइने मन्त्री गौतमको भनाइ छ।
राजनीतिक तथा सरकार परिवर्तनको सङ्क्रमणकालीन अवस्थाका कारण मनोनित सदस्यको विषय समयमै टुंगोमा पुग्न नसकेको उनले स्पष्ट पारिन्। संसद्को सदस्य पद लामो समयसम्म रिक्त राख्नु उचित नहुने भन्दै सरकार यस विषयमा सचेत रहेको उनको भनाइ थियो।मन्त्री गौतमका अनुसार आगामी दिनमा सङ्घीय संसद्, निर्वाचन आयोग तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच आवश्यक समन्वय गरी राष्ट्रियसभामा कुनै पद रिक्त भएपछि त्यसको पूर्ति प्रक्रिया समयमै अघि बढाइनेछ।