काठमाडौं ।उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सहज बनाउन पाठ्यसामग्री र प्रश्नपत्र नेपाली तथा अंग्रेजी दुवै भाषामा उपलब्ध गराउनुपर्ने माग गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद सृष्टि भट्टराईले उच्च शिक्षाको परीक्षामा भाषाका कारण विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले परीक्षा प्रश्न बुझ्नमै कठिनाइ हुने अवस्थाले विद्यार्थीको वास्तविक विषयगत ज्ञान मूल्यांकनमा असर पर्न सक्ने बताइन्।सांसद भट्टराईले आफूले हालै स्नातकोत्तर तहको परीक्षा दिँदा पनि प्रश्नको भाषा बुझ्न कठिनाइ भएको अनुभव सुनाइन्। उनका अनुसार परीक्षा हलमा कतिपय विद्यार्थी प्रश्नको आशय बुझ्नमै अलमलिने अवस्था देखिएको थियो।
उनले नेपालको शिक्षा प्रणालीमा भाषाको प्रयोगमा स्पष्टता नहुँदा विद्यार्थी थप अन्योलमा पर्ने गरेको बताइन्। विद्यालय तहदेखि नै नेपाली र अंग्रेजी भाषाको प्रयोगबीचको असन्तुलनले उच्च शिक्षासम्म प्रभाव पारेको उनको भनाइ थियो।विश्वविद्यालयमा पाठ्यक्रम, अध्ययन सामग्री र प्रश्नपत्र फरक–फरक भाषामा हुँदा विद्यार्थीले विषयको उत्तर दिनुभन्दा पहिले प्रश्नलाई अनुवाद गर्नुपर्ने अवस्था आउनु उचित नभएको उनले उल्लेख गरिन्।उनले विद्यार्थीलाई विषयगत ज्ञानकै आधारमा मूल्यांकन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रश्न नबुझेका कारण विद्यार्थी असफल हुने अवस्था अन्त्य गर्न उच्च शिक्षाका पाठ्यसामग्री र प्रश्नपत्र नेपाली तथा अंग्रेजी दुवै भाषामा उपलब्ध गराउने व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग माग गरिन्।