काठमाडौं ।प्रतिनिधिसभाको बैठकमा पाँच सय र एक हजार रुपैयाँका नोट चलनचल्तीबाट हटाउने विषय उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद यज्ञमणि न्यौपानेले अवैध रूपमा जम्मा भएको सम्पत्ति नियन्त्रण गर्न नोटबन्दीको विकल्प अघि सारेपछि सदनमा यसबारे बहस भएको हो।सांसद न्यौपानेले लामो समयसम्म सत्तामा रहेका व्यक्तिहरूमाथि अवैध रूपमा सम्पत्ति जोडेको आरोप लगाउँदै मुलुकमा कालो धनको समस्या रहेको दाबी गरे। त्यसले अर्थतन्त्रमा असर पारेको भन्दै उनले पाँच सय र एक हजार रुपैयाँका नोट तत्काल खारेज गर्नुपर्ने धारणा राखे।
उनको प्रस्तावमाथि प्रतिक्रिया दिँदै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले नोटबन्दीसम्बन्धी निर्णय अघि बढाए आफ्नो पार्टीले समर्थन गर्ने बताए। साथै, बहुमत प्राप्त सरकारसँग यस्तो निर्णय गर्न आवश्यक अधिकार हुँदाहुँदै पनि किन कदम नचालिएको भन्ने प्रश्न उनले उठाए।दुलालले सरकारसँग निर्णय कार्यान्वयन गर्ने पर्याप्त राजनीतिक आधार रहेको उल्लेख गर्दै कालो धन नियन्त्रणका लागि ठोस कदम चाल्न आग्रह गरे। उनका अनुसार प्रभावकारी निर्णयमार्फत अवैध रूपमा सञ्चित रकम बाहिर ल्याउन र अर्थतन्त्र सुधारतर्फ अघि बढ्न सकिनेछ।