काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकलाई सम्बन्धित समितिमा पठाउनेदेखि केही विधेयक पारित गर्ने प्रस्तावसमेत पेस हुने सम्भावित कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। उनका तर्फबाट ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ समितिमा पठाउने प्रस्ताव पेस हुनेछ।
त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछन्। यसैबीच, आज सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठकसमेत बस्दैछ। संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिका बैठक बस्ने तय भएको छ।