काठमाडौं।प्रतिनिधिसभा सदस्य डा. राम लामाले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने बताएका छन्।
उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबन्डाभन्दा योग्यता, अनुभव र क्षमतालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयसम्बन्धी विधेयक, २०८३ माथिको छलफलमा सहभागी हुँदै लामाले विश्वविद्यालयको स्वायत्तता र स्वशासनलाई कानुनमा मात्र नभई व्यवहारमै प्रभावकारी बनाउनुपर्ने बताए।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई स्वायत्त संस्थाका रूपमा विकास गर्ने अवधारणा सकारात्मक भए पनि विधेयकमा रहेका केही प्रावधानले विश्वविद्यालयको स्वतन्त्रतामाथि प्रश्न उठाउन सक्ने उनको भनाइ छ। प्रधानमन्त्रीलाई कुलपति र रक्षामन्त्रीलाई सहकुलपति बनाउने तथा विभिन्न पदाधिकारी नियुक्तिमा बाह्य प्रभाव पर्न सक्ने व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने उनले बताए।
सत्ता परिवर्तनसँगै विश्वविद्यालयका नेतृत्वसमेत फेरिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै लामाले पदाधिकारी छनोटका लागि स्वतन्त्र, पारदर्शी र योग्यतामा आधारित प्रक्रिया आवश्यक रहेको बताए।उनले विश्वविद्यालयको कार्यकारी नेतृत्वलाई पर्याप्त अधिकार दिँदै ‘बोर्ड अफ ट्रस्टी’लाई उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गर्ने तथा दीर्घकालीन रणनीति निर्माणमा केन्द्रित गर्ने व्यवस्था प्रभावकारी हुन सक्ने सुझाव दिए।
त्यस्तै, विश्वविद्यालयमा आवश्यक शैक्षिक तथा प्रशासनिक जनशक्ति छनोट गर्दा संस्थाकै मानव संसाधन प्रणालीलाई बलियो बनाउनुपर्ने उनको धारणा छ। विश्वविद्यालयको आवश्यकता र विशिष्टताअनुसार उपयुक्त समयमा दक्ष जनशक्ति छनोट गर्न सकिने व्यवस्था आवश्यक रहेको उनले बताए।प्रस्तावित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेपलाञ्चोकको बनेपा–पेरुङ्गेडाँडामा स्थापना गर्ने निर्णयप्रति भने लामाले स्वागत गरेका छन्। उनले विश्वविद्यालय स्थापनाका लागि निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिँदै विधेयकका सकारात्मक प्रावधानप्रति आफ्नो समर्थन रहेको स्पष्ट पारे।