काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन्।
उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन्। प्रधानमन्त्री शाह आज अपराह्न ४ः१५ बजे कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्युयोर्क प्रस्थान गर्नेछन्। उनको टोलीमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत छन्।
प्रधानमन्त्री शाहले आगामी असोज ८ गते (सेप्टेम्बर २४) महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहित अन्य अधिकारीको पनि सहभागिता रहनेछ। न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। उनी असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमणसमेत हो।