काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो समय पुस्तान्तरण, युवा सहभागिता र नेतृत्वमा नयाँ पुस्ताको भूमिकाबारे बहस बढ्दै गएको छ।
लामो समयसम्म पार्टीको नेतृत्व तथा निर्णायक तहमा पुरानै पुस्ताको प्रभाव रहँदै आएको भन्दै आलोचना हुने गरेको कांग्रेसमा अहिले युवालाई संगठनसँगै निर्णय प्रक्रियामा पनि अघि बढाउनुपर्ने आवाज उठिरहेको छ। यही परिवेशमा सरोज केसीको राजनीतिक यात्रा पनि चर्चा गर्न लायक देखिन्छ।
१५ वर्षको उमेरमै विद्यार्थी राजनीतिमा प्रवेश
वि.सं. २०४२ साल जेठ ४ गते जन्मिएका केसीले १५ वर्षकै उमेरमा नेपाल विद्यार्थी सङ्घमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए। विद्यार्थी राजनीतिका क्रममा उनले कलेज एकाइ सभापतिदेखि क्षेत्रीय सभापति, जिल्ला सदस्य र जिल्ला सचिवसम्मका जिम्मेवारी सम्हाले। पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सचिव पदका प्रत्यासी बनेका केसी २०६२/६३ को जनआन्दोलनमा पनि नेविसङ्घका तर्फबाट सक्रिय रूपमा सहभागी भएका थिए। त्यसपछि उनी नेविसङ्घको केन्द्रीय सदस्य बने।
विद्यार्थी संगठनबाट पार्टीको मूल राजनीतितर्फ
विद्यार्थी संगठनमा लामो समय सक्रिय रहेपछि केसी नेपाली कांग्रेसको पार्टी संगठनमा प्रवेश गरे। पार्टीभित्र उनले प्रदेश सभा सचिव र प्रतिनिधि सभा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालेका छन्। यसबाहेक माडी गाउँपालिकाको सार्वजनिक लेखा समितिको सभापतिका रूपमा समेत काम गरिसकेका छन्। राजनीतिसँगै केसीको यात्रा अध्ययन र व्यवसायसँग पनि जोडिएको छ। राजनीति शास्त्र तथा बिजनेस अध्ययनका लागि उनी नेदरल्यान्ड्स पुगेका थिए। अध्ययन पूरा गरेपछि नेपाल फर्किएका उनले व्यवसायिक क्षेत्रमा समेत आफ्नो संलग्नता अघि बढाए।
पारिवारिक घटनाले पनि राजनीतिमा प्रभाव
केसीको राजनीतिक यात्रासँग उनको परिवारले सशस्त्र द्वन्द्वका क्रममा भोगेको घटनालाई पनि जोडेर हेर्ने गरिन्छ। द्वन्द्वका क्रममा उनका पितामाथि भौतिक आक्रमण भएको थियो। परिवारले भोगेको उक्त परिस्थितिले उनको राजनीतिक सोच र सक्रियतामा प्रभाव पारेको बताइन्छ। किशोरावस्थामै विद्यार्थी राजनीतिबाट सुरु भएको उनको सक्रियता त्यसपछि लोकतान्त्रिक मूल्य र पार्टी संगठनसँग जोडिँदै विभिन्न जिम्मेवारीसम्म पुगेको देखिन्छ।
युवाको भूमिका कति बढ्छ भन्ने बहस
कांग्रेसमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने बहस लामो समयदेखि हुँदै आएको छ। तर पछिल्लो समय यो बहस केवल युवालाई संगठनमा प्रवेश गराउने विषयमा सीमित छैन। युवालाई पार्टीको निर्णय प्रक्रिया र नेतृत्व तहमा कति जिम्मेवारी दिने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ। पार्टीका विभिन्न तहमा नयाँ पुस्ताका नेताहरूको उपस्थिति बढिरहेका बेला सरोज केसीको राजनीतिक यात्रा पनि विद्यार्थी संगठनबाट सुरु भएर पार्टी संरचनाका विभिन्न जिम्मेवारीसम्म पुगेको एउटा उदाहरण हो। अब कांग्रेसले पुस्तान्तरणको बहसलाई व्यवहारमा कसरी अघि बढाउँछ र लामो समयदेखि संगठनमा सक्रिय युवाहरूलाई नेतृत्वको कुन तहसम्म अवसर दिन्छ भन्ने विषय आगामी दिनमा अझ महत्वपूर्ण बन्ने देखिन्छ।