काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले सरकारले सुरुदेखि नै मधेसी समुदायप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप लगाए। उनले बालेन नेतृत्वको सरकारलाई ‘तासको पत्ता’ जस्तो भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे।सिंहले राजविराजस्थित अस्पतालबाहिरै बबिता पासवानले शिशु जन्माउनुपरेको घटनालाई संसद्मा उठाउँदै राज्यको व्यवहारप्रति प्रश्न गरे। उक्त घटनाले आफू भावुक बनेको उल्लेख गर्दै उनले गरिब तथा मधेसी समुदायले भोग्नुपरेका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताए।उनले मधेसी समुदायसँग जोडिएका विभिन्न विषयमा सरकारको निर्णयप्रति पनि प्रश्न उठाए। बर्दिवासमा मेडिकल कलेज बनाउने योजना अघि बढ्न नसकेको विषयलाई लिएर उनले प्रधानमन्त्रीमाथि असन्तुष्टि जनाए।सिंहले रसुवा बाढीपछि उद्धार तथा राहतमा ढिलाइ भएको, किसानले समयमा मल नपाएको र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाए।न्यायालय र कर्मचारीतन्त्रसमेत अस्तव्यस्त बनेको दाबी गर्दै उनले प्रधानमन्त्रीको सचिवालय तथा सल्लाहकारहरूको कार्यशैलीले सरकारप्रति जनताको विश्वास कमजोर हुँदै गएको टिप्पणी गरे।