काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको एकता बलियो बनाउन आफू आवश्यक परे अझै लचक भएर अघि बढ्न तयार रहेको बताएका छन्।
कांग्रेस स्याङ्जाले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ पुण्यतिथिमा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै थापाले पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी आफूले गम्भीरतापूर्वक लिएको बताए।उनले पार्टीभित्र देखिएका कमजोरी सुधार्न आवश्यक ठाउँमा कडा निर्णयसमेत लिनुपर्ने धारणा राखे। पार्टीको हित र संगठनलाई बलियो बनाउने विषयमा आफू नरम र आवश्यकताअनुसार निर्मम भएर अघि बढ्ने उनको भनाइ थियो।देशमा कठिन परिस्थिति आउँदा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्दै समस्या समाधानमा योगदान दिँदै आएको दाबी गर्दै थापाले जनतामाझ पार्टीप्रतिको विश्वास अझ बलियो बनाउने बताए।विपद्को समयमा सरकारको आलोचना गर्नुभन्दा नागरिकको समस्या समाधानमा केन्द्रित हुनुपर्ने उनको धारणा थियो।शोकसभामा कांग्रेस महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतले स्वर्गीय गोपालमान श्रेष्ठले कांग्रेस संगठन र राजनीतिमा पुर्याएको योगदानको स्मरण गरेका थिए।