काठमाडौं । मुस्ताङको लोमान्थाङ क्षेत्रमा गएको भूकम्पबाट ठूलो क्षति भएको भन्दै सांसद योगेश गौचन थकालीले सरकारको तत्काल ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै थकालीले भूकम्पबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।उनका अनुसार भदौ तेइस गते राति लोमान्थाङ गाउँपालिका आसपास केन्द्रबिन्दु भएर पाँच दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि पटक–पटक परकम्प महसुस भएको उनले बताए।भूकम्पका कारण लोमान्थाङ गाउँपालिकाका विभिन्न वडामा घर तथा अन्य संरचनामा क्षति पुगेको र प्रारम्भिक विवरणअनुसार तीन सयदेखि पाँच सय घरधुरी प्रभावित भएको सांसद थकालीले जानकारी दिए। केही घरमा बस्नै जोखिम हुने अवस्था आएको उनको भनाइ छ।भूकम्पले करिब सात सय वर्ष पुरानो छोदे गुम्बालगायत ऐतिहासिक तथा धार्मिक सम्पदामा समेत असर परेको उनले बताए। वर्षाका कारण क्षति थप बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल प्राविधिक टोली पठाउनुपर्नेमा उनले जोड दिए।थकालीले क्षतिको यकिन विवरण संकलन, प्रभावित परिवारका लागि अस्थायी आवास तथा राहतको व्यवस्था र आवश्यक क्षतिपूर्तिसहित पुनर्निर्माणको योजना तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्।साथै, मुस्ताङका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष पहल गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।