काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यास बजारमा सहज रूपमा पुग्न नसक्नुको मुख्य कारण वितरण प्रणालीमा रहेको समस्या हुन सक्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भारतबाट ग्यास आइरहेको भनिए पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको बताए। उनले मन्त्रालय, नेपाल आयल निगम, ग्यास उद्योगी र व्यापारीलाई एउटै ठाउँमा राखेर सार्वजनिक रूपमा छलफल गर्नुपर्ने माग गरे।समस्या कहाँ भइरहेको छ र त्यसको जिम्मेवार को हो भन्ने कुरा जनताले पनि स्पष्ट रूपमा थाहा पाउनुपर्ने उनको भनाइ छ।श्रेष्ठले अहिले ग्यास ढुवानीका लागि प्रयोग भइरहेका गाडीको संख्या बढाएर आपूर्ति सहज बनाउन सुझाव दिए। उनका अनुसार अहिले २० वटा गाडीले ढुवानी गरिरहेको भए त्यसलाई बढाएर १०० वटासम्म पुर्याउन सकिन्छ।यस्तै, ग्यासमाथिको निर्भरता घटाउन सरकारले विद्युतीय चुल्होमा विशेष छुट दिने योजना तत्काल ल्याउनुपर्ने उनले बताए।काठमाडौं उपत्यकामा ग्यासको समस्या समाधान गर्न जिम्मेवार कर्मचारी तोक्ने, सार्वजनिक सम्पर्क नम्बर राख्ने र जनताको गुनासो तत्काल सुन्ने तथा समाधान गर्ने व्यवस्था बनाउनुपर्नेमा पनि सांसद श्रेष्ठले जोड दिए।