काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाका कारण कानुन निर्माणमा अवरोध भएको भन्दै दिएको अभिव्यक्तिको राष्ट्रिय सभा बैठकमा कडा विरोध भएको छ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा विभिन्न दलका सांसदहरूले मन्त्री गौतमको भनाइप्रति आपत्ति जनाउँदै तथ्यसहित आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका हुन्।नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले राष्ट्रिय सभाले कुन कानुन र कहिले रोकेको हो भन्ने विवरण सार्वजनिक गर्न मन्त्री गौतमलाई चुनौती दिए। उनले राष्ट्रिय सभाले आफ्नो नियमित काममा अवरोध नगरेको दाबी गर्दै मन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाए।कर्णले रास्वपा सभापति रवि लामिछानेले आफ्ना नेता तथा कार्यकर्ताले गलत सूचना फैलाए कारबाही गर्ने बताएको प्रसंगसमेत जोड्दै मन्त्री गौतममाथि पार्टीले आवश्यक कदम चाल्नुपर्ने धारणा राखे। जिम्मेवारी पूरा गर्न नसके मन्त्रीले पदबाट हट्ने बाटो रोज्नुपर्ने उनको भनाइ थियो।एमालेकी सांसद रामकुमारी झाँक्रीले पनि मन्त्रीको भनाइप्रति असन्तुष्टि जनाइन्।
उनले सरकारले राष्ट्रिय सभामा कति विधेयक दर्ता गर्यो, प्रतिनिधिसभाबाट कति विधेयक आए र राष्ट्रिय सभाले कति विधेयकमाथि काम गर्यो भन्ने तथ्य सार्वजनिक गर्न माग गरिन्।झाँक्रीले तथ्यबिना राष्ट्रिय सभामाथि दोष थोपरेर सरकारको कमजोरी ढाक्न नमिल्ने बताइन्। गलत सूचना प्रवाह भएको भए त्यसबारे सरकारले आवश्यक कारबाही गर्नुपर्ने उनको माग छ।उनले मन्त्री गौतमले संसद्कै रोस्ट्रमबाट आफ्नो भनाइ सच्याउँदै माफी माग्नुपर्ने र राष्ट्रिय सभा अध्यक्षले यस विषयमा आवश्यक निर्देशन दिनुपर्ने मागसमेत गरिन्।यसअघि जेनजी दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो दलको पर्याप्त समर्थन नभएका कारण कानुन निर्माण प्रभावित भएको बताएकी थिइन्। यही अभिव्यक्तिलाई लिएर अहिले राष्ट्रिय सभामा विवाद चर्किएको हो।