काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्।
यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग भेट गरी आफ्नो राजीनामा बुझाएको उनको सचिवालयले जानकारी दिएको छ।यसअघि बिहीबार नै यादवले ग्यास उद्योगीहरूप्रति कडा अभिव्यक्ति दिँदै उनीहरूलाई ‘पाता कस्नुपर्ने’ टिप्पणी गरेकी थिइन्। उक्त अभिव्यक्तिपछि उनी विवादमा समेत तानिएकी थिइन्। यादवको राजीनामा ग्यास आपूर्तिको समस्या चर्किरहेका बेला आएको हो। केही दिनअघि संसदीय समितिको बैठकमा उनले ग्यास उद्योगीहरूमाथि कडा टिप्पणी गरेकी थिइन्। ग्यास अभावको समस्या उद्योगीहरूकै कारण भएको दाबी गर्दै उनले उनीहरूमाथि कडाइ गर्नुपर्ने धारणा राखेकी थिइन्।मन्त्री यादवले देशमा सञ्चालनमा रहेका ग्यास उद्योगको संख्या धेरै भएको भन्दै अधिकांशको अनुमति खारेज गरेर सीमित उद्योगमार्फत मात्रै कारोबार गर्नुपर्ने सुझावसमेत दिएकी थिइन्।उनको उक्त अभिव्यक्तिपछि ग्यास व्यवसायीहरूले असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। यसले उद्योग मन्त्रालय र ग्यास व्यवसायीबीचको विवाद थप चर्किएको थियो।यसैबीच काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै छ। उपभोक्ता सिलिन्डर लिन लामो समयसम्म लाइन बस्नुपर्ने अवस्थामा छन् भने कतिपय ठाउँमा तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपरेको गुनासो छ।सडक अवरोध तथा आपूर्ति व्यवस्थापनमा देखिएको समस्याले ग्यास वितरण प्रभावित भएको बताइए पनि बजारमा सहज आपूर्ति हुन सकेको छैन। यस्तो अवस्थामा समस्या समाधानमा सरकारमाथि दबाब बढिरहेका बेला उद्योगमन्त्री यादवको राजीनामाले थप राजनीतिक चासो बढाएको छ।