काठमाडौं ।प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन्।
बिहीबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारी राहत तथा उद्धारको कामको अनुगमन र निरीक्षण गर्न विशेष समिति आवश्यक रहेको निष्कर्ष निकालेको हो।समितिले सरकारलाई थप सुझाव दिने तथा संसद्को तर्फबाट आवश्यक सहजीकरण गर्ने गरी संसदीय विशेष समिति गठन गर्नुपर्ने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बताइन्।सरकारले अहिलेसम्म यस्तो समिति गठन नगरेको भन्दै संसद्मा सशक्त रूपमा आवाज उठाउने र सरकारलाई निरन्तर ध्यानाकर्षण गराउने निर्णयसमेत बैठकले गरेको छ।बैठकले उद्धार तथा खोजीमा खटिएका सबै निकायलाई धन्यवाद दिँदै विपद्को सुरुआती चरणमा पर्याप्त समन्वय र परामर्श हुन नसक्दा केही कमजोरी देखिएको निष्कर्ष निकालेको छ।जनताको धैर्यता टुट्न नदिन सरकारले अस्थायी पुनर्स्थापनाको काम तत्काल तीव्र बनाउनुपर्नेमा विपक्षी दलहरूले जोड दिएका छन्।राष्ट्रिय विपत्तिको समयमा राजनीतिक स्वार्थभन्दा माथि उठेर सरकारसँग सहकार्य गर्ने साझा प्रतिबद्धता पनि विपक्षी दलहरूले व्यक्त गरेका छन्।