काठमाडौं ।विपद्का बेला एकैपटक ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा शवगृहको क्षमता बढाउने योजना अघि सारेको छ।
मन्त्रालयका अनुसार विभिन्न १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ शवगृह निर्माण वा पुराना संरचनाको क्षमता विस्तार गरिनेछ। प्रत्येक अस्पतालमा एकैपटक कम्तीमा पचासवटा शव सुरक्षित रूपमा राख्न सकिने व्यवस्था गर्ने लक्ष्य राखिएको छ।यसअन्तर्गत कोशी, नारायणी, गजेन्द्र नारायण सिंह, भरतपुर, भेरी र डडेलधुरा अस्पतालमा शवगृह निर्माण तथा क्षमता विस्तारको काम अघि बढाइनेछ।त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसहित बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कम्तीमा पचास शव व्यवस्थापन गर्न सक्ने पूर्वाधार तयार गरिने मन्त्रालयले जनाएको छ।मन्त्री निशा मेहताका अनुसार विगतका विपद् र पछिल्लो भोटेकोशी बाढीका क्रममा शव व्यवस्थापनमा देखिएको कठिनाइबाट पाठ सिक्दै भविष्यमा यस्तो समस्या कम गर्न अस्पतालमै पर्याप्त पूर्वाधार आवश्यक देखिएको हो।मन्त्रालयले यस योजनाबाट विपद्को समयमा शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउनुका साथै फरेन्सिक तथा मेडिको–लिगल सेवा थप प्रभावकारी हुने अपेक्षा गरेको छ।