काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अदालतबाट फैसला हुने तर त्यसको कार्यान्वयन निकै कम हुनु गम्भीर विषय भएको बताएकी छन्।
बिहीबार संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले न्यायालयको निर्णय कार्यान्वयनको अवस्था सुधार्न सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताइन्।उनले फैसला कार्यान्वयनमा देखिएको कमजोरी हटाउन आवश्यक संरचना र संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिन्। संघीयता लागू भइसकेको अवस्थामा राज्यका संरचनालाई थप व्यवस्थित र चुस्त बनाउन सरकार स्पष्ट रहेको उनको भनाइ थियो।मन्त्री गौतमले अहिलेको अवस्थामा फैसला कार्यान्वयनको दर यस्तै कमजोर रहन नसक्ने भन्दै यस विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताइन्।