काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्रै बुझ्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताए। जलवायु संकटमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने गम्भीर रूपमा भोग्नुपरिरहेको उनको भनाइ थियो।उनले भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकको घटनालाई जलवायु परिवर्तनबाट सिर्जित असमान जोखिमसँग जोडेर हेर्नुपर्ने धारणा राखे। विकसित मुलुकहरूको गतिविधिका कारण बढ्दै गएको जलवायु संकटको असर नेपालले बाढी, पहिरो तथा अन्य विपद्का रूपमा भोगिरहेको उनले उल्लेख गरे।
लामिछानेले अब नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्याय र क्षतिपूर्तिको विषय प्रभावकारी रूपमा उठाउनुपर्ने बताए। त्यसका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको आवाज बलियो बनाउनुपर्ने र जलवायु संकटबाट हुने क्षतिको जिम्मेवारी तथा क्षतिपूर्तिबारे विश्व समुदायलाई जवाफदेही बनाउन पहल गर्नुपर्ने उनको जोड थियो।यसैबीच, विपद्बाट प्रभावित नागरिकले संकटका बेला देखाएको आपसी सहयोग र एकताको पनि लामिछानेले प्रशंसा गरे। ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरे पनि प्रभावित समुदायले एकअर्कालाई साथ दिइरहनु सकारात्मक पक्ष भएको उनले बताए।
उनले भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने माग गरे।लामिछानेले विपद् व्यवस्थापनलाई तत्कालीन राहतमा मात्र सीमित नराखी जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण तथा भविष्यमा हुन सक्ने क्षति रोक्ने दीर्घकालीन रणनीति बनाउन पनि सरकारको ध्यानाकर्षण गराए।