काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी पुस्ताले खोजेको परिवर्तन व्यवहारमा कति कार्यान्वयन भयो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले गत वर्षको जेनजी आन्दोलनलाई केवल सरकार परिवर्तनसँग जोडेर हेर्न नहुने धारणा राखे। उनका अनुसार आन्दोलनको मुख्य उद्देश्य राज्य सञ्चालनको शैली र राजनीतिक संस्कारमा परिवर्तन ल्याउनु थियो।उनले जेनजी आन्दोलनले उठाएका दण्डहीनताको अन्त्य, विधिको शासन, जवाफदेहिता र सुशासनका सवाललाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए।केसीले अहिले मुलुकमा देखिएको दैनिक उपभोग्य वस्तुको अभावप्रति पनि सरकारको ध्यानाकर्षण गराए। बजारमा मल र ग्यासको समस्या देखिएको भन्दै उनले यस्तो अवस्थामा सरकार र राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोपभन्दा पनि समस्या समाधानका लागि साझा प्रयास आवश्यक रहेको बताए।प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा राज्यले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। विशेषगरी रसुवाको भोटेकोशी क्षेत्रमा बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा थप तीव्रता र प्रभावकारिता आवश्यक रहेको उनले बताए।सांसद केसीले जेनजी आन्दोलनले उठाएका प्रश्न अझै सान्दर्भिक रहेको उल्लेख गर्दै राज्य र समाजले नयाँ पुस्ताले परिकल्पना गरेको शासन पद्धति र सामाजिक वातावरण निर्माण गर्न सकेका छौँ कि छैनौँ भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।उनका अनुसार आन्दोलनबाट सत्ता परिवर्तन भए पनि त्यसको वास्तविक सफलता शासन गर्ने शैली, नागरिकलाई दिइने सेवा र राज्यप्रतिको जनविश्वासमा देखिने परिवर्तनबाट मात्र मापन गर्न सकिन्छ।