काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिदप्रति राज्यले अपेक्षित संवेदनशीलता नदेखाएको भन्दै सरकारको आलोचना गरेकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद खतिवडाले जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा सहिदको सम्झनामा सार्वजनिक बिदा दिइए पनि उनीहरूका परिवार र न्यायको विषयमा सरकार गम्भीर नदेखिएको बताइन्।सहिद रसिक खतिवडाकी आमासमेत रहेकी उनले सहिद स्मृति दिवसका अवसरमा प्रधानमन्त्रीलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरे पनि साँझ अबेर मात्र सामाजिक सञ्जालमार्फत सामान्य सन्देश आएको उल्लेख गरिन्।उनले सरकारसँग प्रश्न गर्दै जेनजी आन्दोलनका सहिदले न्याय पाउन अझै कति समय कुर्नुपर्ने हो भन्ने विषय स्पष्ट पार्न आग्रह गरिन्।सांसद खतिवडाले सहिद परिवार तथा आन्दोलनका क्रममा घाइते भएकाहरूको अवस्था बुझ्न सरकार कहिले पुग्छ भन्ने प्रश्नसमेत उठाइन्। उनले पीडित परिवारको पीडा सम्बोधन गर्दै न्याय र राज्यबाट पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन्।