काठमाडौँ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बशना थापाले दैलेख क्षेत्र नम्बर १ अन्तर्गत नमुना बस्तीमा बस्दै आएका बादी समुदायका १० घर पहिरोका कारण विस्थापित भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार संसद्मा बोल्दै थापाले वर्षौंदेखि लालपुर्जाविहीन अवस्थामा रहेका ती परिवार पहिरोका कारण घरबारविहीन बन्न पुगेको बताइन् । विस्थापित परिवारलाई तत्काल राहत, सुरक्षित आवास र पुनःस्थापनाको व्यवस्था गर्न उनले सरकारसँग माग गरिन् । साथै, लामो समयदेखि लालपुर्जा नपाएका परिवारको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारले आवश्यक पहल गर्नुपर्नेमा पनि उनले जोड दिइन् । थापाले विपद्का कारण थप संकटमा परेका सीमान्तकृत समुदायका नागरिकको सुरक्षित बसोबास र सम्पत्तिको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् ।