काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले सरकारले विगतमा गरेका सहमति तथा सम्झौता कार्यान्वयनमा गम्भीरता देखाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै यादवले जेनजी आन्दोलनका क्रममा सरकार र प्रभावित परिवारबीच भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए। उनले आन्दोलनमा मृत्यु भएकाहरूका परिवार तथा घाइतेसँग गरिएका प्रतिबद्धता तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए।यादवले जेनजी आन्दोलनका क्रममा पक्राउ परेर जेलमा रहेका व्यक्तिलाई समेत तत्काल रिहा गर्न माग गरे। उनका अनुसार जनताको आन्दोलनबाट प्राप्त उपलब्धि र नयाँ जनमतको सम्मान गर्नु सरकारको जिम्मेवारी हो।सरकारप्रति कडा टिप्पणी गर्दै उनले विगतका घटनाबाट पाठ सिक्न आग्रह गरे। सत्ता स्थायी नभएको उल्लेख गर्दै यादवले जनताको आवाजलाई बेवास्ता गर्ने प्रवृत्तिले भविष्यमा सत्तामाथि नै गम्भीर असर पार्न सक्ने चेतावनी दिए।उनले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई गम्भीर रूपमा लिएर मृतक तथा घाइतेका परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। साथै, जनताको भावना र इतिहासलाई सम्मान गर्दै सरकार अघि बढ्नुपर्नेमा उनले जोड दिए