काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंसलाई नवयुवाको आक्रोशको परिणाम नभई लोकतन्त्र र संविधानको ‘प्रगतिशील कोर्स’ उल्ट्याउने योजनाको परिणाम भएको आरोप लगाएका छन्।
भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै ओलीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत तथा राजनीतिक दलका कार्यालयसहित सार्वजनिक र निजी सम्पत्तिमा भएको आक्रमणलाई योजनाबद्ध विध्वंसको संज्ञा दिएका हुन्।
ओलीले प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि समेत हिंसा र तोडफोड जारी रहनुले यो घटना अघिल्लो दिन युवाको ज्यान गएको घटनापछिको तत्कालीन आक्रोश मात्र नभएको दाबी गरेका छन्। उनले यसको गहिरो छानबिन गरी शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका पछाडि को जिम्मेवार थियो भन्ने तथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।
तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई दोषी ठहर गर्दै प्रतिशोधका आधारमा पक्राउ गरी मुद्दा चलाउने प्रयास भएको आरोपसमेत ओलीले लगाएका छन्। सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै उनले त्यसप्रति पनि प्रश्न उठाएका छन्।
उनले भदौ २४ को विध्वंसका आरोपीलाई उन्मुक्ति दिने तथा अनुसन्धान र अभियोजन रोक्ने कामले राजनीतिको अपराधीकरण र दण्डहीनतालाई संस्थागत गर्ने खतरा बढाएको टिप्पणी गरेका छन्।
ओलीले राज्यका प्रमुख संरचना र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने बताएका छन्।
उनले कुनै पनि नाममा हिंसा र अराजकतालाई वैधता दिन नहुने भन्दै सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार्य हुन नहुनेमा जोड दिएका छन्।
यद्यपि, ओलीले जेनजी आन्दोलनमा उठाइएका युवाका मूल सरोकार र अपेक्षा गलत नभएको बताएका छन्। तर आन्दोलनको लाभ अन्य तत्वले उठाएको उनको दाबी छ।
ओलीले अहिले लोकतन्त्र, संविधान, राष्ट्रिय हित र स्वाभिमानमाथि चुनौती बढेको दाबी गर्दै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्तिलाई सहकार्य गरेर अघि बढ्न आह्वान गरेका छन्।