काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट र तोडफोडका घटनाको स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले घटनाको छानबिन तथ्य र प्रमाणका आधारमा हुनुपर्ने बताएका हुन्।
प्रचण्डले आन्दोलनका क्रममा युवाले उठाएका जायज माग र त्यसपछि भएका हिंसात्मक घटनालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताएका छन्। उनका अनुसार युवाको असन्तुष्टिलाई योजनाबद्ध रूपमा हिंसा, लुटपाट र विध्वंसतर्फ मोडिएको थियो।
उनले २४ भदौमा सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालयलगायतका सार्वजनिक संरचना तथा सरकारी, प्रहरी र राजनीतिक दलका कार्यालयमा भएको आगजनी र तोडफोडलाई लोकतान्त्रिक आन्दोलनको इतिहासकै ‘कालो दिन’ भएको टिप्पणी गरेका छन्।
प्रचण्डले आन्दोलनको मूल भावना, त्यसक्रममा भएको दमन तथा त्यसपछिका हिंसात्मक घटनाको छुट्टाछुट्टै कोणबाट सत्यतथ्य पत्ता लगाउनुपर्नेमा जोड दिएका छन्।