काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको जनतासँगको सम्बन्ध कमजोर बनेकै कारण पछिल्लो समय एमाले कमजोर भएको स्वीकार गरेका छन्।
महोत्तरीमा जारी पार्टीको मधेस प्रदेशस्तरीय ‘मिसन जागरण’ अभियानको अभिमुखीकरण कार्यक्रममा बोल्दै ज्ञवालीले एमालेको कार्यशैली जनतामाझ पुग्नेभन्दा सरकारी कामकारबाही र प्रशासनिक सरुवामा बढी केन्द्रित भएको बताए।उनका अनुसार पार्टी नेता–कार्यकर्ताले जनताका समस्या उठाउने र समाधानका लागि पहल गर्नुपर्नेमा सीडीओ, प्रहरी तथा प्रशासनिक अधिकारीको सरुवाजस्ता विषयमा बढी ध्यान दिँदा जनसम्बन्ध कमजोर बनेको हो।ज्ञवालीले पछिल्लो निर्वाचनमा एमालेको कमजोर प्रदर्शनका पछाडि पार्टीभित्रको गुट–उपगुट र आन्तरिक एकताको अभाव पनि जिम्मेवार रहेको बताए। पूर्वराष्ट्रपति विद्या भण्डारीसँग जोडिएको सदस्यता विवाद तथा निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न नसक्दा पार्टीले क्षति व्यहोरेको उनको भनाइ छ।उनले केही वर्षयता एमालेले पटक–पटक सत्ता समीकरण परिवर्तन गर्दा जनतामा पार्टीप्रति नकारात्मक धारणा बनेको पनि बताए। सत्ता परिवर्तनको स्पष्ट कारण जनतालाई बुझाउन नसक्दा त्यसको असर पार्टीको जनाधारमा परेको उनको निष्कर्ष छ।ज्ञवालीले अब एमालेले जनताका वास्तविक समस्या पहिचान गर्ने, ती मुद्दा उठाउने र समाधानका लागि प्रभावकारी भूमिका खेल्ने गरी आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।