काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई शहीद युवाहरूको सम्झना गर्ने मात्र नभई आगामी दिनमा त्यस्तो घटना दोहोरिन नदिने संकल्प गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले एक वर्षअघि भदौ २३ गते प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरूलाई सम्झँदै राज्यले नागरिकको आवाज दबाउन बल प्रयोग गर्नुको सट्टा संयम र जिम्मेवारी देखाउनुपर्ने धारणा राखेकी छन्।उनले त्यस दिन प्रहरीको गोलीबाट १९ जना युवाले ज्यान गुमाएको उल्लेख गर्दै सडकमा बगेको रगत राज्य सुधारको आधार बन्नुपर्ने बताएकी छन्। गौतमका अनुसार लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई प्रश्न गर्ने, असहमति जनाउने र विरोध गर्ने अधिकार संविधानले सुनिश्चित गरेको छ। त्यसैले राज्यले जनताको आवाज सुन्नुपर्नेमा गोली चलाउनु गम्भीर विषय भएको उनको भनाइ छ। उनले भीड नियन्त्रणका लागि राज्यसँग विभिन्न कम घातक विकल्प हुँदाहुँदै पनि गोली चलाइएको बताएकी छन्। राज्यसँग शक्ति र सुरक्षा संयन्त्र हुने भएकाले त्यसअनुसार संयम र जवाफदेहिता पनि आवश्यक रहेको उनले उल्लेख गरेकी छन्।
गौतमले राज्यले पाएको शक्ति नागरिकको जीवन समाप्त गर्न नभई उनीहरूको सुरक्षा गर्न प्रयोग हुनुपर्ने बताएकी छन्। उनका अनुसार भीड नियन्त्रणको उद्देश्य अवस्था नियन्त्रणमा लिनु हो, नागरिकको ज्यान लिनु होइन।उनले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको बलिदानलाई आगामी सरकार र राज्य संयन्त्रका लागि चेतावनीका रूपमा लिनुपर्ने बताउँदै फेरि त्यस्तो दिन कहिल्यै नदोहोरिने प्रतिबद्धता गर्नुपर्नेमा जोड दिएकी छन्। ‘आजको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो। हामीले गुमाएका प्रत्येक युवाको सम्झनामा फेरि यस्तो दिन नदोहोरियोस् भन्ने प्रतिबद्धता गर्नुपर्छ,’ उनले भनेकी छन्।