काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये केही मानव अंगसमेत रहेका छन्। अहिलेसम्म ९८ जनाको शव पहिचान गरी परिवारलाई बुझाइएको छ।प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रसुवाबाट १ सय ६९, नुवाकोटबाट १ सय ९७, धादिङबाट ७०, गोरखाबाट ७५ र तनहुँबाट ३८ शव फेला परेका छन्। त्यस्तै चितवनबाट ३ सय ६३, नवलपरासी पूर्वबाट २ सय २२ र नवलपरासी पश्चिमबाट २ सय २१ शव फेला परेको विवरण छ।बाढीपछि करिब ४ हजार ९सय ९६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाली नागरिकसँगै सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा विदेशी नागरिकसमेत रहेका छन्।
यसबीच बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३ सय ९६ जनाको उद्धार गरिएको छ भने ६ हजार ६ सय ७२ जना घाइतेको उपचार गरिएको छ।प्राधिकरणका अनुसार प्रभावित नागरिकलाई सुरक्षित राख्न विभिन्न स्थानमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। ती केन्द्रमा हाल ३ हजार ५ सय ३३ जना प्रभावित नागरिक रहेका छन्।उद्धार, खोजी, राहत तथा सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।बाढीपछि बेपत्ता नागरिकको खोजी, शव पहिचान तथा प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई निरन्तरता दिइएको छ।