काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोट र रसुवाको पछिल्लो अवस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेलले स्थलगत निरीक्षण गरेका छन्।
सोमबार नुवाकोट पुगेका राष्ट्रपति पौडेलले विदुरस्थित श्री नं। १ सैन्य तालिम केन्द्रमा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीहरूसँग भेट गरी बाढीपछिको अवस्थाबारे जानकारी लिएका हुन्।भेटका क्रममा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, प्रभावित नागरिकका लागि सञ्चालनमा रहेका होल्डिङ सेन्टर तथा पुनःस्थापना र पुनरुत्थानका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराइएको थियो।नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जिल्लाको अवस्थाबारे जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवातर्फ लागेका छन्।भोटेकोशी बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमै पुगेर उद्धार, राहत र पुनःस्थापनाको अवस्थाबारे चासो लिएका हुन्।